Radio Golden Live..

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पुनः तालाबन्दी


काठमाडौं—देशैभरिका जिल्ला शाखा तथा प्रतिष्ठानहरुमा अधिवेशन चलिरहेको बेला नेपाल पत्रकार महासंघमा बुधबार पुनः तालबन्दी लगाइएको छ । थवाङबाट नयाँ पार्टी नामाकरण गरेर आएको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध क्रान्तिकारी पत्रकार संगठनले बुधबार साँझ नेपाल पत्रकार महासंघको केन्द्रीय कायालयमा तालबन्दी गरेको छ ।
महासंघका पुराना सदस्यहरुको समेत छानविन गरी शुद्धिकरण गर्नुपर्ने, देशैभरि तीन दलीय सिण्डिकेट कायम गरी आफ्नो संगठन तथा कुनै पनि संगठनमा आबद्ध नभएका पत्रकारहरुलाई सदस्यता वितरणमा निषेध गरिएको साथै क्रान्तिकारी पत्रकार संगठनमा आबद्ध भएका पत्रकारहरुलाई महासंघले सदस्यता वितरण गर्दा बिभेद कायम गरिएको भन्दै बुधबार तालाबन्दी गरिएको हो ।
बुधबार साँझ महासंघको कार्यालयको मूलगेटमा क्रान्तिकारी पत्रकार संगठनका महासचिव प्रज्वल श्रेष्ठको नेतृत्वमा रहेको समुहले मूलगेटमा बक्तव्य टाँसेर तालाबन्दी गरेको हो । दिउँसो ज्ञापन पत्र बुझाइएको र वार्ता र संवादबाट हल गर्ने सम्झौता कार्यान्वयन नभएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको संगठनका महासचिव श्रेष्ठले बताए । यसअघि नेपाल प्रेस युनियनले लगाएको तालाबन्दी खुलेको केहीदिन पछि नै संगठनले ताला लगाएको हो । संगठनका अध्यक्ष तथा महासंघकै सचिव प्रभात चलाउनेले भने ‘आफ्नो घोषित कार्यक्रम अन्तरर्गत छलफल र संवादबाट हल निकास नआउन्जेलसम्मको लागि महासंघका तालबन्दी गर्ने आफ्नो संगठनको नीति अन्तर्गत हामै्र पत्रकार साथीहरुले तालबन्दी गर्नु भएको हो ।’ अध्यक्ष क्रान्तिकारी पत्रकार संगठन सम्बद्ध पत्रकार नबराज न्यौपानेले देशैभरिमा मूल पेशाका रुपमा सञ्चार माध्यममा आबद्ध पत्रकारहरुलाई सदस्यता दिन दलिय सिण्डिकेट लगाउने तर, राजनीतिक पार्टीको भागबण्डामा सरकारी कर्मचारी, राजनीतिक पार्टीका जिम्मेवार पदमा रहेका व्यक्तिहरुलाई समेत पत्रकार महासंघको सदस्यता वितरण गरेर गैर पत्रकारहरुको अखडा बनाउने षडयन्त्र गरेकाले त्यसलाई चिर्न आफूहरु बाध्य भएको बताए । संगठनले यसअघिको १० हजार ७७ जना कूल सदस्यहरुको बारेमा निष्पक्ष छानविन गर्नुपर्ने, राजनीतिक आस्था बोक्न नमानेको आधारमा तथा दलीय सिण्डिकेटको शिकार भएका देशैभरिका निर्वाचन हुन बाँकी र भइसकेका शाखाहरुमा समेत बास्तविक पत्रकारहरुलाई तत्काल सदस्यता वितरण गर्नुपर्ने लगायतका मागहरु अघिसारेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]