Radio Golden Live..

जैविक विविधताको संरक्षणमा महिला सक्रियता

कृष्ण अधिकारी

दाङ, १५ चैत । प्राकृतिक स्रोतको संरक्षण तथा आयआर्जनका क्रियाकलापमा गाउँको पहिचान र जीविकोपार्जनमा महिलाको महत्वपूर्ण योगदान पुग्न सक्छ भन्ने उदाहरण रामपुर गाविसका महिलाले देखाएका छन् । उनीहरुले गाउँमा रहेको चरिङ्गे दहको संरक्षणमा पु¥याएको योगदानले गर्दा ताल लोप हुने अवस्थाबाट जोगिएको मात्र होइन, त्यहाँको प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षणका साथै स्थानीय समुदायको जीविकोपार्जनमा समेत सकारात्मक परिवर्तन आएको छ ।

हालको घोराही उपमहानगरपालिका वडा नं १ र २ मा अवस्थित चरिङ्गे दह क्षेत्रफल र गहिराइको हिसाबले दाङ उपत्यकाभित्र पर्ने सबैभन्दा ठूलो ताल मानिन्छ । चरिङ्गे सामुदायिक वनभित्र पाँच हेक्टरभन्दा बढीको क्षेत्रफलमा फैलिएको यो ताल केही वर्षअघिसम्म लोप हुने अवस्थामा पुगेको थियो ।

वन फँडानीका कारण ताल वरपरबाट आउने माटोको थेग्रानले तालभित्र पानीको मुहान भए पनि मुहान पुरिएपछि आकासे पानीमा निर्भर हुने भएकाले हिउँदको समयमा पानीको सतह निकै कम हुने गथ्र्याे ।

ताल पुरिँदै गएपछि यसले वरपरका बासिन्दाको आयस्रोतमा असरमात्र गरेन, कतिपय वन्यजन्तु पनि सुरक्षित वासस्थानको अभावमा लोप हुन थालेका थिए । तालको अस्तित्व हराउन थालेपछि त्यस वरपर बसोबास गर्ने दलित, जनजाति र अन्य जातिका गरी करिब २०० परिवारको जीवनयापन निकै कष्टकर बन्न थाल्यो । अधिकांश युवा कामको खोजीमा भारत र खाडी मुलुकतर्फ जानुपर्ने विवशता आएको थियो ।

तालको अस्तित्व मेटिने क्रमसँगै त्यसमा आश्रित समुदायको जीविकोपार्जनमा समेत समस्या आउन थालेपछि स्थानीय महिला विभिन्न समूह गठन गरी वनको संरक्षणमा क्रियाशील हुन थालेका छन् । ताल संरक्षण गर्न अलग्गै समिति गठन गरिएको छ ।

बाबुबाजेको पालादेखि तालको वरपर बसी गुजारा चलाउँदै आएकामा एक्कासि उठीबास हुने अवस्था आउन थालेपछि वन जङ्गलको फँडानी हुन नदिन र ताल क्षेत्रको उचित संरक्षणमा महिलासँगै पुरुषले पनि साथ दिएका छन् ।

तालको पानीलाई सञ्चय गर्न तालको वरिपरि अग्लो माटोको डिल बनाउन उनीहरुलाई पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रले संयुक्त राष्ट्रसङ्घीय÷विश्व वातावरणीय कोषअन्तर्गत साना अनुदान कार्यक्रमले दाङ उपत्यका जैविक विविधता संरक्षण एवम् जीविकोपार्जन परियोजनामार्फत सहयोग गरेको थियो । परियोजनाले ताल क्षेत्रमा पुरिएको भागको माटो फालेर ताल विस्तार गर्ने र तालदेखि उत्तरतिर बायोइन्जिनियरिङ गरी वृक्षरोपणमा सहयोग गरेपछि विस्तारै तालले आफ्नो पुरानो स्वरुप लिन थालेको छ ।

वर्षाको पानीले सोझै माटो बगाएर तालमा ल्याउन नपाओस् भनेर उत्तरी भागमा ३०० बाँसका बिरुवा र अम्लिसोका हजारौँ बिरुवा लगाएर बायोइन्जिनियरिङ गरिएको छ । तालको दक्षिणतर्फ पनि पक्की पर्खाल लगाइएको छ । तालको विस्तारले पहिलेको भन्दा पाँच करोड ४३ लाख लिटर थप पानी अट्ने भएको छ । यस तालको पानीबाट लगभग सय हेक्टर जमिनमा सिँचाइ र स्थानीय समुदायको खानेपानीको स्रोत बनेको छ । तालको दिगो संरक्षणका लागि माछापालन गरी यसबाट प्राप्त आम्दानी तालको संरक्षणमा लगाइएको पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर राउत बताउनुहुन्छ ।

तालको अस्तित्व जोजाएसँगै स्थानीय महिला सामुदायिक रुपमा चरा संरक्षणमा जुटेका छन् । महिला समूहको सक्रियतामा चरिङ्गे र आसपासका अन्य सामुदायिक वनमा पाइने रुख, झारपात, वन्यजन्तु, किरा फट्याङ्ग्राको अभिलेख तयार गर्ने तथा गिद्धको गुँड अनुगमन गरी वैज्ञानिक तथ्याङ्क राख्ने काम भएको छ । नेपालमै पहिलोपटक महिलाको अगुवाइमा गरिएको बोटबिरुवा, चराचुरुङ्गी, जनावर र जडीबुटीको अभिलेखीकरणले यसको संरक्षणमा सजिलो भएको मयुर बचत तथा ऋण समूहका अध्यक्ष देवका पाण्डे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – ‘‘लोप हुने अवस्थामा रहेका बोटबिरुवा, जनावर र चराको खोजी गरी तिनको संरक्षण पनि गरेका छौँ ।”

जैविक विविधताको संरक्षणमा महिलाको सक्रियता यत्तिमै सीमित छैन । महिलाले जङ्गलमा बिरामी र घाइते अवस्थामा फेला पारी ल्याएका गिद्धको उद्धार गरी प्रकृतिमा छाड्ने गरिएको छ । यहाँ बिरामी अवस्थाका गिद्धको उद्धार र उपचार हुन्छ भन्ने व्यापक प्रचारप्रसारका कारण अन्यत्रबाट पनि यस गिद्ध रेष्टुरेन्टमा ल्याउन थालिएको ‘न्याउरी महिला समूह’का सचिव टुकमाया खड्का बताउनुहुन्छ ।

अहिले यस क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको कालो गरुड आएर बस्न थालेको छ भने डँगर जातको गिद्धको मुख्य वासस्थान नै बनेको छ । यहाँ विभिन्न १४ प्रजातिका वन्यजन्तु र ७२ प्रजातिका पक्षी पाइन्छन् । जङ्गलको घनत्व बढेसँगै चरी बाघ, सारस, मयुरलगायतका विभिन्न वन्यजन्तु र चराचुरुङ्गी देख्न सकिन्छ ।

जैविक विविधता संरक्षणसँगै स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउनु आवश्यक भएकाले परियोजनाको सहयोगमा महिला समूहमार्फत बेमौसमी तरकारीखेतीलगायत विभिन्न आयमूलक, नेतृत्व विकास एवम् लेखासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

यहाँका प्रायः सबै महिलाले बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । हिउँदको समयमा तालमा पानीको परिमाण कम हुने हुँदा गाउँनजिकैको चेपेखोलाबाट पानी पम्पिङ गर्न सकिएमा सिँचाइका लागि सहज हुने ताल संरक्षण समितिका अध्यक्ष अनन्तबहादुर पाण्डे बताउनुहुन्छ ।

मुक्त कमैया, सुकुम्बासी, भूमिहीन दलितको बसोबास रहेको यस क्षेत्रका महिलालाई च्याउखेती तालिम दिएपछि पर्याप्त आम्दानी गर्न सकेको ‘जुरेली महिला बचत तथा ऋण समूह’का अध्यक्ष रुमा सुनारको भनाइ छ ।

तालको संरक्षणपछि यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । अहिले ताल छेवैमा बराहाको मूर्ति स्थापना गरिएपछि धार्मिक पर्यटकको सङ्ख्या पनि क्रमशः बढ्न थालेको छ । वनभोजका लागि पनि यहाँ बिदाको दिन निकै भीड लाग्ने गर्छ । स्थानीय बासिन्दामा जैविक विविधता र पर्यावरण संरक्षणमा आएको चेतनाले छोटो समयमा नै यस क्षेत्रले काँचुली फेर्न सम्भव भएको हो । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]