Radio Golden Live..

सुपथ मूल्यमा औषधि बेच्न भारत र बङ्गलादेश सकारात्मक

कल्पना पौडेल

जेनेभा, १० जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले स्वयम्ले कडाखालको औषधि खरिद गरी सुपथ मूल्यमा बिक्री गर्न भारत र बङ्गलादेशका स्वास्थ्यमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको ७० औँ महासभामा भाग लिन स्विट्जरल्यान्डको जेनेभा आउनुभएका मन्त्री थापाले दुई देशका स्वास्थ्यमन्त्रीसँग आज छुट्टाछुट्टै भेटमा औषधिको सहज खरिद बारेमा छलफल गर्नुभएको हो ।

भारतीय स्वास्थ्यमन्त्री जगतप्रकाश नाडासँगको भेटमा भारत सरकारको सहयोगलाई बढाउन नेपाल सरकारबीच उच्चस्तरीय टोली पठाएर अगाडिका लागि सम्झौता गर्ने सहमति भएको छ । मन्त्री थापाले भन्नुभयो, “हामीले भेटमा भारत सरकारले कम शुल्कमा औषधि खरिद गर्न एक साताभित्र उच्चस्तरीय समितिले वर्षभरि औषधि कति चाहिन्छ भन्ने तथ्याङ्क निकाल्ने र कमसेकम मूल्यमा खरिद गरी नेपालका सरकारी फार्मेसीबाट बेच्दा अहिलेको भन्दा आधाभन्दा बढी कम मूल्यमा औषधि जनताले प्राप्त गर्नेछन् ।”

कडा रोगका बढी मूल्यका औषधि सुपथ मूल्यमा नेपालमा उपलब्ध गराउन बङ्गलादेश पनि सकारात्मक रहेको उहाँले जानकारी दिनुभयो । भारतीय दूतावासबाट स्वास्थ्य क्षेत्रमा गर्दै आएको भारतीय सहयोग स्वास्थ्य मन्त्रालयमार्फत गर्न मन्त्री थापाले राखेको प्रस्तावमा पनि भारत सकारात्मक रहेको बताइएको छ ।

त्यसैगरी बङ्गलादेशका स्वास्थ्यमन्त्री मोहम्मद नासिमसँगको भेटमा पनि औषधिको खरिदबारे पनि सकारात्मक छलफल भएको छ । मन्त्री थापाले दिएको जानकारीअनुसार बङ्गलादेशी सरकारले पाँच वर्षमा चाहिने औषधिको लिस्ट बनाएर आवश्यक औषधिको सुपथ मूल्य दिन तयार रहेको छ ।

उहाँले भन्नुभयो, “गुणस्तरीय औषधि मूल्यमा खरिद गरी जनतालाई कमसेकम मूल्यमा उपलब्ध गराउन भारत, बङ्गलादेश र नोवाटिज कम्पनीसँग छलफल भएको छ । अब हामीले कोसँग कति कति कम मूल्यमा खरिद गर्ने भन्ने विकल्प खुल्ला छ । तिनैले कम मूल्यमा औषधि दिन तयार छन् ।”

कडा तथा नेपालमा उत्पादन नहुने औषधि निजी क्षेत्रले आयात गरी बेच्दा जनताले निकै चर्को मूल्यमा खरिद गर्न बाध्य छन् । सरकारले औषधिको मूल्य अनुगमन गर्न गठन गरेको सुझाव समितिले विदेशी आयातकर्ताले दुई हजार २०० प्रतिशतसम्म बढी मूल्य लिएको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो ।

सरकारले विपन्न बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था गरेको कडा रोगको औषधि महँगो हुदाँ बिरामी थप समस्यामा परेको भन्दै स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तयरीय निर्णय गरी कडा रोगको औषधि आफँै खरिद बिक्री गर्न समिति बनाइसकेको छ । सरकारले सोझै विदेशी औषधि कम्पनीसँग खरिद गरी बिक्री गर्दा जनताले अहिले तिरिरहेको मूल्यभन्दा आधा कम मूल्यमा गुणस्तरिय औषधि पाउने मन्त्रालयको भनाइ छ भने स्वदेशी औषधि कम्पनीलाई पनि आत्मनिर्भर बनाई गुाण्स्तरीय औषधि उत्पादनका लागि प्रेरित गर्ने सरकारले निर्णय गरिसकेको छ ।

नयाँ महानिर्देशकका लागि मतदान हुँदैँ

विश्व स्वास्थ्य सङगठनको ७० औँ महासभाले पाँच वर्षे कार्यकालका लागि नयाँ महानिर्देशकको छनौट गर्दैछ । इथियोपिया, संयुक्त अधिराज्य र दक्षिणी आयरल्याण्ड तथा पाकिस्तानका उमेद्वारलाई अहिले केहीबेरमा १९४ देशबाट आएका सदस्य राष्ट्रका स्वास्थ्यमन्त्री वा उक्त देशका नेतृत्व प्रमुखले मतदान गर्दैछन् ।

हालका महानिर्देशक डा मार्गरेट चेनको कार्यकाल सकिएपछि नयाँ महानिर्देशक छानिन लागेको हो । डा चेनले दुई कार्यकाल संगठनको उक्त पदमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । सोमबारबाट सुरु भएको महासभाले स्वास्थ्यका उपलब्धि, नयाँ चुनौती र आगामी कार्यक्रमका लागि एजेण्डा तयार गर्नेछ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]