Radio Golden Live..

बगरखेतीले जगाएको आशा

शेरबहादुर सिंह

भीमदत्तनगर, १० जेठ । बनहरा मुक्तकमैया शिविरका ७० वर्षीय घुम्मन राना झन्डै अढाई दशक साहुको घरमा कमैया बस्नुभयो । परिवारको आर्थिक अवस्थाका कारण लामो समय अर्काको घरमा काम गरेर जीविका चलाएका राना अहिले बगरखेतीबाट मनग्य आम्दानी गरेर समूहमा बचत गर्न थालेका छन् ।

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको झलारी–बाणी खण्डको वनहरा नदीको बगरमा उहाँले विगत पाँच वर्षदेखि बगरखेती गर्दै आउनुभएको छ । रानाले दैनिक रु पाँच सयदेखि रु एक हजारसम्म आम्दानी गर्नुहुन्छ ।

राना मात्र होइनन् वनहरा मुक्तकमैया शिविरका ५० परिवार केही वर्षयता बगरखेती गरेर परिवारको लालनपालनदेखि बचतसम्म गर्न थालेका छन् । उनीहरु बगरखेती गर्नुअघि गाउँमा मजदुरी गर्दैआएका थिए । बनहरा नदीको बगरमा लौका सङ्कलन गरिरहेको अवस्थामा भेटिनुभएका मुक्तकमैया शिवचरन रानाले रासससित भन्नुभयो– “तरकारी बेचेरै घरखर्च चलेको छ ।” बर्सेनि बगरखेती गरेर रु ५० हजारदेखि रु ६० हजारसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

मुत्तकमैया शिविरमा चारवटा सामुदायिक समूह बनाएर बनहराका मुक्तकमैया विभिन्न व्यवसाय सञ्चालन गर्दैआएका छन् । “मुक्त हुँदा सरकारले उपलब्ध गराएको जग्गाको उब्जनीले खान पुग्ने अवस्था छैन,” रानाले भन्नुभयो ।

बगरखेतीका लागि बीउबिजन लगायत प्राविधिक सहयोग दातृ निकायले उपलब्ध गराउँदै आएको छ । मुक्तकमैया शिविरमा रहेका भावना सामुदायिक समूह, जनज्योति, कल्पना र सम्झना सामुदायिक समूहमा मुक्तकमैया आवद्ध भएर समूहमा मासिक रु ५० हजारसम्म बचत गरिरहेका छन् । उनीहरुले आयस्रोत बढाउन भीमदत्तनगरस्थित नेपाल राष्ट्रिय समाजकल्याण सङ्घ (एनएनएसडब्लुए)को गरिबी निवारण कोष कार्यक्रमबाट सामाजिक तथा प्राविधिक सहयोग पाइरहेका छन् ।

बगरखेतीमा मुक्तकमैयाले लौका, फर्सी, तरभूजा, काँक्रा, गोलभेँडा, खुर्सानीलगायत तरकारी उत्पादन गर्दैआएका छन् । “उत्पादित तरकारी बिक्रीका लागि बजारको समस्या छैन,” शिवचरनले भन्नुभयो–“गाउँमै तरकारी खपत हुन्छ ।” एनएनएसडब्लुएको सहयोगका कारण बगरखेतीतर्फ आकर्षित भएको उहाँको भनाइ छ ।

“पहिले त बगरमा कसरी तरकारी फल्छ जस्तो लाग्थ्यो,” रानाले भन्नुभयो– “अहिले त्यही बगरकोखेतीले परिवार धानिएको छ ।” बगरखेती गर्ने बेला परिवारका सबै सदस्य नदी किनारमा परिश्रम गर्ने गरेको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) को गरिबी निवारण कोषका कार्यक्रम संयोजक टेक बुढाले बनहरा मुक्तकमैया बस्तीमा आयस्रोत बढाउनुका साथै उनीहरुको क्षमता अभिवृद्धि गर्न कोषको आर्थिक अनुदान सहयोग रहेको बताउनुभयो ।

झन्डै एक दशकअघिदेखि मुक्तकमैया बस्तीमा समूह गठन गरेर करिब रु १६ लाख अनुदान दिएको उहाँले बताउनुभयो । “हामीले मुक्तकमैयाको आयस्तर बढाउन सिधै व्यक्तिलाई भन्दा पनि समूहमार्फत लगानी गरिदिने हो,” उहाँले भन्नुभयो । अहिले मुक्तकमैयाले मासिक बैठक बसेर समूहमा बचत गर्नेदेखि ऋण समुहलियतमा समूहभित्र आदानप्रदान गर्ने गरेका छन् । समूहबाट एक प्रतिशत ब्याजमा मात्रै ऋण लिने गरेको उहाँले बताउनुभयो ।

“सुरुवाती चरणमा व्यवसायमा लाग्न अभिप्रेरित गर्न लगानी गर्ने गरेका छौँ,” बुढाले भन्नुभयो–“बाँकी सबै अधिकार समूहमा आवद्ध सदस्यकै हुन्छ ।” मुक्तकमैया शिविरमा गरिबी निवारण कोषको अनुदान रकमबाट बगरखेती मात्रै नभएर सिँचाइका लागि पम्पसेट जडान गर्नुका साथै गाईपालन, भैँसीपालन, कुखुरापालन, साइकल मर्मत कार्य समेत गरिरहेका छन् । कमाएको रकम बचत गरेर समूहको पनि आम्दानी बढ्दै गइरहेको छ ।

“समूहबाट रकम लिएर कमाएर शिविर छेउमै जग्गा खरिद गरेर मुक्तकमैया बस्दैआएका छन्,” कार्यक्रम संयोजक बुढाले भन्नुभयो– “मुक्तकमैयाको आयस्तर बढाउन जिल्लाका धेरै शिविर तथा बस्तीमा गरिबी निवारण कोषले अनुदान प्रदान गरेको छ ।”

मासिक २५ हजार आम्दानी

कुनै बेला अरुको घरमा कमैया बस्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का मुक्तकमैया बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

मुक्त भइसकेपछि सरकारले दिएको जग्गामा मुक्तकमैया काँक्रा, बोडी, करेला, लौकालगायत तरकारी उत्पादन गरेर बिक्री वितरण गर्दैआएका छन् । नौखरी मुक्तकमैया बस्तीका ४६ वर्षीय महादेव चौधरीले तरकारी खेतीबाट भएको आम्दानीबाट ६ जनाको परिवारको जीविका चलाउँदै आएको बताउनुभयो ।

“सबै खर्च कटाएर मासिक रु २५ हजारसम्म बचत हुन्छ,” उहाँले भन्नुभयो– “बजारको कुनै समस्या छैन ।” उहाँले तरकारी बिक्रीका लागि झलारी, कलुवापुरलगायत बजार धाउँदै आएको बताउनुभयो । “दैनिक रु एक हजारदेखि रु एक हजार पाँच सयसम्म बचत हुन्छ,” उहाँले भन्नुभयो– “अहिले घरखर्च चलाउन कसैसित हात जोड्नुपरेको छैन ।”

उहाँले गाउँमा डेढ बिगाहा जग्गा भाडमा लिई बगरखेती गर्दैआउनुभएको छ । तरकारीकै कमाइबाट सिँचाइका लागि बोरिङ समेत जडान गरेको चौधरीले बताउनुभयो । स्थानीयस्तरमा हाट बजारको आवश्यकता भएको उहाँको भनाइ छ ।

सानै उमेरदेखि अर्काको घरमा कमैया बस्नुभएका चौधरी गाउँमा प्रौढ शिक्षा लिएर सामान्य हिसाब किताब राख्ने गर्छन् । यस्तै मुक्तकमैया विपतराम चौधरीले समेत बेमौसमी तरकारी खेतीबाट रु २० हजारसम्म आम्दानी गर्दैआउनुभएको छ ।

तरकारीको आम्दानीले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरायसी खर्च टार्न सहज भएको चौधरी बताउनुहुन्छ । तरकारी खेतीबाट नै सबै खर्च कटाएर वार्षिक रु दुई लाख बचत हुन्छ । मुक्तपछि केही समय झलारी बजारमा मजदुरी गरेर परिवार लालनपालनमा जुटेका चौधरीले तरकारी खेतीमा लागेपछि अरुको जग्गा समेत भाडामा लिई आम्दानी गर्दै आउनुभएको छ । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]