Radio Golden Live..

इमान्दार भए परिवर्तन सम्भव भएको प्रधानमन्त्रीको धारणा


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यदि राजनीतिक दल इमान्दार बन्दा मात्रै मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय नलाग्ने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन र आर्थिक वृद्धिको क्षेत्रमा गरेको सकारात्मक प्रयास आगामी दिनका लागिसमेत प्रेरणाको स्रोत हुने बताए ।
आफू प्रधानमन्त्री बन्दा संविधान कार्यान्वयन होला कि नहोला, मधेस केन्द्रित दल स्थानीय तहको निर्वाचनमा आउलान् कि नआउलान् भन्ने खालका आशङ्का कायम रहेको भए पनि सकारात्मक पहलले सकारात्मक नतिजा प्राप्त भएको उनको भनाइ थियो ।
मधेस केन्द्रित दललाई संविधान स्वीकार गर्ने अवस्थामा ल्याइपु¥याइएको, संविधानको सर्वस्वीकार्यता बढेको, पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘मुख्य विषय राजनीतिक नेतृत्वले मुलुकलाई कसरी निकास दिने र गुणात्मक रूपमा आर्थिक समृद्धि कसरी हासिल गर्ने भनेर केन्द्रित भयो भने प्रतिफल दिन सकिन्छ भन्ने पछिल्लो दश महिनाले आम जनतामा सकारात्मक धारणा स्थापित गरिदिएको छ ।’
सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा ल्याउने, मधेस, पहाड, हिमाल बीचमा एकता बनाइराख्न आफू र आफ्नो नेतृत्वको सरकार सफल भएको प्रधानमन्त्रीको भनाइ छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन बाँकी भए पनि त्यसको आधारशीला खडा भएको, प्रदेश तथा केन्द्रीय संसद्को निर्वाचन हुने वातावरण पनि बनेको भन्दै उहाँले स्थानीय तहमा पुगेको अधिकार हालसम्मकै सबैभन्दा ठूलो उपलब्धि भएको बताए ।
दुई ठूला छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्न सकिएको, ‘एक पेटी एक मार्ग’ (ओबिओर)मा हस्ताक्षर भएको, काठमाडौं–तराई मधेस द्रुतमार्गको निर्माण प्रक्रिया सुरु भएको, हुलाकी राजमार्ग निर्माणले गति लिएको र महाकालीमा पुल निर्माण तथा अन्य विकास निर्माणका कामसमेत प्रभावकारी तवरले भएको भन्दै प्रधानमन्त्रीले सन्तोष व्यक्त गरे । विद्युत्भार कटौतीको अन्त्यसँगै आर्थिक वृद्धिदर २५ वर्षपछि उच्च स्थानमा पुग्नु सफलताको अर्को सूचक रहेको भन्दै प्रधानमन्त्री दाहालले विगतमा के होला, कसो होला भनेर गरिएका सबै प्रकारका आशंका विश्वासमा परिणत भएको स्पष्ट पारे ।
उनले सोमबार बिदाइ गरे पनि आफ्नो पार्टी र नेतृत्व पुनः सरकारमा आउने भएकाले स्वागत गर्ने तयारी गर्न कर्मचारी प्रशासनलाई आग्रह गरे ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं उच्चपदस्थ कर्मचारीले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेर काम गर्दा मुलुकले प्राप्त गरेको उपलब्धि आफूहरूका लागिसमेत प्रमुख उपलब्धि भएको धारणा राखेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]