Radio Golden Live..

किसान केराखेतीतर्फ आकर्षित

बर्दिया- जेठ । बर्दियामा पछिल्लो पटक केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ ।

केराखेती युवाको रुचिको विषय बन्दै गएको छ । किसानले सहकारीमार्फत तथा व्यक्तिगत रुपमा केराखेती गर्दै आएका छन् । विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् बर्दिया नगरपालिकाका किसान सन्तोष विक । उहाँले २० बिगाहा जमिन भाडामा लिई केराखेती गर्दै आउनुभएको छ ।

केराखेतीबाट पर्याप्त आम्दानी भएपछि उहाँ त्यसतर्फ आकर्षित हुनुभएको हो । मैनापोखर र धधवारमा उहाँले फार्म खोलेर व्यावसायिक रुपमा केराखेती गर्दै आउनुभएको छ । “बजारका लागि कुनै समस्या छैन,” उहाँले भन्नुभयो । अनुदानको व्यवस्था गरे किसानको मनोबल बढ्ने विक बताउनुहुन्छ । जिल्लामा पछिल्लो समय युवाले केराखेतीलाई महत्व दिइरहेका छन् । धधवारका नवराज पौडेल केराखेतीबाट वार्षिक रु तीन लाख ५० हजारभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुहुन्छ । उहाँ कृषि विकास कार्यालयको सहयोग भए अझ बढी आम्दानी गर्न सकिने बताउनुहुन्छ ।

जिल्लामा यस वर्ष ८१२ हेक्टरमा केराखेती गरिएको छ । यहाँ उत्पादन भएको केरा दाङ, प्युठान, जुम्ला, सुर्खेतलगायत जिल्लामा बिक्री हुन्छ । खुल्ला सिमानाका कारण भारतबाट केरा आयात हुँदा यहाँका किसान मारमा परेका छन् । जिल्ल्ला कृषि विकास कार्यालयले यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केराखेती व्यवसायलाई पहिलो प्राथमिकतामा राखेको वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतले बताउनुभयो । बलौटे माटो केराखेतीका लागि चुनौती भएको रावत बताउनुहुन्छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]