Radio Golden Live..

‘खाद्य सहायता परिचयपत्र’ जारी हुने


भीष्मराज ओझा
काठमाडौं—नेपालको संविधानमा उल्लेख गरिएको ‘खाद्यसम्बन्धी मौलिक हक’ कार्यान्वयनका लागि गरिब घरपरिवारलाई सहुलियत मूल्यमा र खास प्रकृतिका वर्गलाई निःशुल्क रुपमा खाद्य उपलब्ध गराउन ‘खाद्य सहायता परिचयपत्र’ जारी गरिने भएको छ ।
खाद्यसम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल कानुन आयोगले ‘खाद्य अधिकारसम्बन्धी ऐन, २०७४ को मस्यौदा तयार गरेको छ । मस्यौदामा ग्रामीण वा सहरी गरिबी, भौगोलिक विकटता, विपद् वा त्यस्तै अन्य कुनै कारणले खाद्य असुरक्षाको जोखिममा रहेका घरपरिवारको पहिचान गर्न खाद्य सहायता परिचयपत्र जारी गरिने उल्लेख छ ।
यसरी पहिचान गरिएका घरपरिवारले सहुलियत मूल्यमा र खास प्रकृतिका वर्गले तोकिए बमोजिम निःशुल्क रुपमा खाद्य प्राप्त गर्न सक्नेछन् । आयोगले मुलुकभर खाद्य अधिकारसम्बन्धी काम गर्ने संघसंस्था, सञ्जाल, सरकारी निकाय, विज्ञसँगसुझाव संकलन गरी मस्यौदालाई अन्तिमरुप दिएको आयोगका उपसचिव कमल गौतमले जानकारी दिए ।
आयोगअन्तर्गत मौलिक हकको पुनरावलोकन गर्न गठिन समितिले झन्डै एक वर्ष लगाएर तयार गरेको सो मस्यौदा यसै साता सरकारलाई बुझाउने तयारी रहेको उपसचिव गौतमले बताए । नेपालको संविधानमा भाग–३ को धारा ३६ मा ‘खाद्यसम्बन्धी हक’ उल्लेख छ ।
सो मौलिक हकअन्तर्गत प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हक हुने, खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने र कानुनबमोजिम खाद्य सम्प्रभुताको हक हुने उल्लेख छ । त्यस्तै धारा ४७ मा मौलिक हकको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
संघ, प्रदेश र स्थानीय सरकारले कृषि पेसाको संरक्षण गरी किसानको जीवनस्तर प्रवद्र्धन गर्न विभिन्न नीतिगत, संस्थागत र कानुनी व्यवस्था गर्न वा गराउन सक्ने मस्यौदाले व्यवस्था गरेको उपसचिव गौतमले जानकारी दिए ।

कृषकलाई क्षतिपूर्तिको व्यवस्था
मस्यौदामा कुनै सरकारी संस्था, निकाय वा कम्पनीले सिफारिस गरेका बीउबिजन, विधि, प्रक्रिया, तरिकाबमोजिम गरेको खेती त्यस्तो संस्था, निकाय वा कम्पनीबाट सिफारिस गरिएको मल प्रयोग गरेको कारणबाट बाली उत्पादन नै हुन नसकेमा वा सारभूत रुपमा बाली उत्पादनमा कमी भएमा त्यस्तो बीउबिजन, विधि, मल सिफारिस गर्ने संस्था, निकाय वा कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ ।
मस्यौदामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी अधिकारको संरक्षण तथा प्रवद्र्धन कार्यलाई व्यवस्थित गर्न खाद्य परिषद्को व्यवस्था गरेको छ । केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय खाद्य परिषद्, प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश खाद्य परिषद् र स्थानीय तहमा नगरपालिका र गाउ“पालिकाको प्रमुख÷अध्यक्षको अध्यक्षतामा स्थानीय खाद्य समन्वय समिति गठन हुनेछन् ।
यस क्षेत्रका जानकारले मुलुकमा पहिलो पटक खाद्य अधिकारसम्बन्धी कानुन आउनु सकारात्मक भन्दै केही विषय थप गर्नुपर्ने सुझाव दिएका छन् । खाद्य अधिकार सञ्जाल नेपालका संयोजक प्रा डा केशव खड्काले संविधानको धारा ३६ मा उल्लेख खाद्य अधिकारसम्बन्धी सबै विषयलाई समेट्नुपर्ने र मस्यौदामा उल्लेख सबै खाद्य परिषद्मा नागरिक समाजको समेत प्रतिनिधित्व हुने गरी चुस्त बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय मान्यताअनुसार राज्यले गर्नुपर्ने सम्मान, संरक्षण र परिपूर्तिको दायित्वजस्ता विषयलाई पनि मस्यौदामा समेट्नुपर्ने उनको सुझाव छ ।
मस्यौदाले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हक, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको हकको सम्मान, संरक्षण, परिपूर्ति र कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय सरकार, प्रदेश सरकार, र स्थानीय तह तथा अन्य सम्बद्ध निकायको हुने व्यवस्था गरेको छ । मस्यौदामा लक्षित समुदायलाई पोषणको प्रबन्ध गर्दा स्थानीयस्तरमा उत्पादन भएका परम्परागत खाद्यलाई प्राथमिकता दिई वितरण गर्नुपर्ने उल्लेख छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]