Radio Golden Live..

पक्राउ परेका ढुंगेल अदालतमा उपस्थित पछि डिल्लीबजार कारागारमा

काठमाडौं,१४ कात्तिक । पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर डिल्लीबजार कारागार पठाइएको छ । हत्या अभियोगमा फरार रहेका अभियुक्त बालकृष्ण ढुंगेल मंगलबार पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो । सर्वोच्च अदालतले पक्राउ आदेश दिँदासमेत ढुंगेल लुकिछिपी बस्दै आएका थिए ।


उनलाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरिएको थियो । हत्या अभियोगमा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको ठहर गरेका नेता ढुंगेललाई यसअघि नै पक्राउ गर्ने प्रयास गरिएको भए पनि प्रहरीलाई उच्च दबाबका कारण पक्राउ गर्न सकेको थिएन ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा नै जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

ढुंगेललाई पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षकविरुद्ध नै रिट दायर भएपछि सर्वोच्चले ढुंगेललाई पक्राउ गरी जानकारी गराउन आदेश समेत दिएको थियो । त्यसपछि प्रहरीले ढुंगेलको खोजी तीव्र बनाएको प्रहरी स्रोतले जानकारी दियो ।

ओखलढुंगाका उज्जन श्रेष्ठको २०५५ सालमा हत्या भएको थियो । माओवादी केन्द्रका नेतासमेत रहेका ढुंगेललाई पक्राउ नगर्न यसअघि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै दबाब दिएका थिए । ढुंगेललाई भन्दा पहिले आफूलाई पक्राउ गर्न दाहालले सार्वजनिक चेतावनी समेत दिएका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]