Radio Golden Live..

मंसिर १५ र १६ गते काठमाडौँमा राष्ट्रिय महिला सम्मेलन हुने

काठमाडौँ, १३ मंसिर । आर्थिक सशक्तीकरण सुनिश्चिताका लागि आगामी मंसिर १५ र १६ गते काठमाडौँमा राष्ट्रिय महिला सम्मेलन हुने भएको छ । अस्मिता महिला प्रकाशन गृह, एक्सन एड इन्टरनेशनल नेपाल र राष्ट्रिय महिला अधिकार मञ्चको संयुक्त आयोजनामा महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यको पहिचान विषयमा सम्मेलन हुन लागेको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

बिहान ९ बजेदेखि सुरु सम्मेलनमा ३५ जिल्लाका २५० घरायसी कामकाजी महिलाहरुको सहभागिता रहने अस्मिता महिला प्रकाशन गृहका कार्यकारी निर्देशक सरिता श्रेष्ठले बताए ।

पारिश्रमिक बिनाको सेवामूलक कामको मूल्यांकन हुन सकेमा लैंगिक आधारमा हुने विभेद अन्त्य हुने विश्वास पत्रकार सम्मेलनमा सहभागी महिला अधिकारकर्मीले बताएका छन् ।

सम्मेलनमा महिलाको पारिश्रमिक बिनाको सेवामूलक कार्यसँग सम्बन्धित नीतिगत समीक्षा, बुझाइ, प्रभावकारी वकालत गर्नुको साथै विभिन्न जिल्लाबाट आएका महिलाहरुको प्रस्तुतीकरण रहने छ ।

अनुसन्धानकर्ता डा मीना आचार्यसहितको टोलीले २०५८ देखि ७२ सालसम्म पाँच वर्ष लगाएर गरेको अनुसन्धानले पनि विश्वमा नै पारिश्रमिक बिनाको सेवामूलक काममध्ये ७५ प्रतिशत काम महिला तथा बालबालिकाले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]