Radio Golden Live..

मोरङ : जहाँ अहिलेसम्म पनि यातायात, बिजुली र स्वास्थ्य सेवा छैन

मोरङ, १४ मंसिर । मोरङ भन्ने बित्तिकै एउटा सुगम जिल्लाको रुपमा चिनिन्छ । तर मोरङ जिल्लाका कतिपय यस्ता विकट क्षेत्र छन् जहाँ अहिलेसम्म पनि सहज यातायात सेवा, बिजुली र स्वास्थ्य सेवा पुग्न सकेको छैन ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा दलका उम्मेदवार यसपटक पनि ती विकट क्षेत्रमा सडक र बिजुली पु¥याइदिने पुरानै प्रतिबद्धता बोकेर मतदाताकहाँ पुगेका छन् ।

निर्वाचनमा भोट माग्न आउने नेतासँग २२ वर्षदेखि गाउँमा सुविधा सम्पन्न सडक र बिजुलीको माग गरे पनि पूरा हुन नसकेको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलाकी लिला लिम्बूले बताए ।

गाउँमा सुविधा सडक र बिजुली माग गरेको दुई दशक पार गर्दा पनि पूरा हुन सकिरहेको छैन । उहाँका अनुसार निर्वाचन आउँदा नेताहरुले वर्षौंदेखि सडक र बिजुलीको एजेण्डा मात्रै बोकेर आउने गरेका छन् ।

निर्वाचनका बेला नेताका लागि रमितेखोला सडक र बिजुलीको मुख्य एजेण्डा बन्ने स्थलका रुपमा मात्रै परिचित भएको लिम्बूले बताए । बिसं २०५२ बाट टाँडीदेखि आइतबारेसम्मको १३ किलोमिटर सडकको ट्रयाक खोलिए पनि त्यहाँबाट स्तरोन्नतिको कुनै काम हुन सकेको छैन ।

विसं २०६० सम्ममा ट्रयाक खोल्ने काम पनि सकियो । तर त्यसको १४ वर्षसम्म सडकको स्तरोन्नतिका लागि कुनै काम हुन सकेको छैन । मोरङको साविक टाँडी गाविस हालको मिक्लाजुङ गाउँपालिका–३ देखि साविकको रमितेखोला गाविस हालको मिक्लाजुङ–१ सम्म सडकको ट्रयाक खोल्ने काम स्थानीयस्तरको दबाबमा भए पनि त्यसपछि सडक विकासका कुनै काम भएका छैनन् ।

सुगम जिल्लाका रुपमा चिनिने मोरङको रमितेखोला जिल्लाकै कर्णालीका रुपमा परिचित छ । अतिनै दुर्गम र विकट स्थानका रुपमा रहेको रमिते खोलासम्म पुग्ने सडक अति नै जीर्ण छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]