Radio Golden Live..

ऐनसँगको तालमेल तथा परिवर्तनको प्रत्याभूति दिलाउनु हाम्रो कर्तव्य– प्रधानन्यायधीश पराजुली

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीले नयाँ आउने ऐनसँगको तालमेल तथा परिवर्तनको प्रत्याभूति दिलाउनु हाम्रो कर्तव्य भएकाले त्यसतर्फ लागेको बताउनुभयो छ।

राजधानीमा आजदेखि आयोजना गरिएको उच्च तथा जिल्ला अदालतका न्यायाधीश, सर्वोच्च अदालतका सहसचिव, विभिन्न अदालतका रजिस्ट्रारलाई उपलब्ध गराउने गरि राष्ट्रिय न्यायिक प्रतिष्ठान द्वारा सञ्चालन गर्न लागिएको अपराध संहिता तथा देवानी संहितासम्बन्धी १० दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै प्रधानन्यायाधीशले पराजुलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
उहाँले मुलुकमा गणतन्त्र स्थापना भएपछि सबै संरचनामा परिवर्तन गरिएको चर्चा गर्दै भदौ १ गतेदेखि लागु हुने संहिताका विषयमा जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानन्यायाधीश पराजुलीले सबैको सहयोगमा प्रतिष्ठानले कानूनी क्षेत्रमा महत्वपूर्ण कार्य गरेकोे उल्लेख गर्दै उहाँले मुलुकमा आएको युगान्तकारी परिवर्तनलाई यस संहिताले पनि गतिशील बनाउने बताउनुभयो ।

उहाँले लामो समयदेखि संहिताका विषयमा छलफलपछि आउन लागेको बताउँदै विधि र प्रक्रियाअनुसार कानूनका सबै क्षेत्रमा प्रशिक्षक प्रशिक्षण दिन नसकिएको उल्लेख गर्दै भन्नुभयो “यस तालिममा कसैलाई पनि निषेध गरिएको छैन, नियमको पालना गरिएको हो ।”

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले ११० वर्ष पुरानो ऐनलाई विस्थापित गराएर नयाँ ऐन ल्याउन ठूलो संघर्ष गर्नुपरेको बताउनुभयो । मन्त्री थापाले मुलुकमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विद्यमान ऐनमा ठूलो परिवर्तन भएको बताउँदै प्रशिक्षक प्रशिक्षणलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।

न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिकले नयाँ संहितासम्बन्धी प्रशिक्षणले न्याय क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्र, पाटन उच्च अदालतका उच्च न्यायाधीश प्रकाशकुमार ढुंगाना, राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक केशरीराज पण्डित, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीले प्रशिक्षक प्रशिक्षणबाट न्यायका नयाँ व्यवस्थालाई जनताको तहसम्म पुर््याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिष्ठानले पहिलो तीन चरणमा १०८ प्रशिक्षक तयार गरी तल्लो तहमा पठाउने तयारी गरेको छ

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]