Radio Golden Live..

राष्ट्रियसभा र प्रतिनिधिसभा अष्ट्रेलिया र युक्रेनको जस्तो बनाईदैं

संसद् सचिवालयले विश्वमा संघीयताको उत्कृष्ट अभ्यास गरिरहेका अष्ट्रेलिया र युक्रेनजस्ता मुलुकले अवलम्बन गरेका संसदीय गतिविधिबारे अध्ययन र अवलोकन गरी त्यहाँका सकारात्मक पक्षलाई हामीले पनि केकस्तो ढंगबाट ग्रहण गर्न सकिन्छ भन्ने हेतुले केही दिन अघि उच्चतहका अधिकृतलाई ती मुलुकमा पठाएको थियो ।

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार आगामी प्रतिनिधिसभाको हलमा आकासे निलो र राष्ट्रियसभाको बैठक कक्षमा रातो कलरको सिटकभर र कार्पेट प्रयोग हुनेछ ।
उनले भने, ’हामीले अन्तर्राष्ट्रिय अभ्यासमा धेरैजसो उपल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ प्रयोग भएको देख्छौँ । हामीले शान्तिको प्रतीक निलो र राष्ट्रिय झण्डामा प्रयोग भएको रातो रङ छनोट गरेका हौँ ।’

अध्ययन टोलीले ती मुलुकका संसद्ले अनुसन्धान र पुस्तकालयलाई सर्वा्धिक महत्व दिएका कारण धेरै विद्यार्थी र पर्यटकको पहिलो रोजाइको गन्तव्य संसद् नै हुने गरेको तथ्य फेला परेको थियो ।
व्यवस्थापिका–संसद् सचिवालयले संघीय संसद्लाई सांसद र प्रविधिमैत्री बनाउने सन्दर्भमा पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा रातो र तल्लो सदन प्रतिनिधिसभा हल नीलो रङको बन्ने भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा हल २२० सिट क्षमताको हुनेछ । सांसदका लागि ८० वटा रातो रङको कुर्सी राखिनेछ । २७५ सदस्यीय प्रतिनिधिसभा हलमा भने नीलो रङका ३४४ वटा सिट रहनेछन् । निर्वाचनपछिको पहिलो अधिवेशनलगायतमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाका कारण ३४४ सिट क्षमताको हल बनाउन लागिएको संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । दर्शक तथा पत्रकारलाई भने छुट्टै सिटको व्यवस्था छ ।
राष्ट्रिय सभाको सिट व्यवस्थापन
संघीय संसद्को उपल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभा नयाँ बानेश्वरस्थित यसअघि व्यवस्थापिका–संसद् भवन रहेको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रको नुप्से हलमा बस्नेछ । जहाँ अहिले ड्यास तथा मञ्च निर्माण भइरहेको छ । संविधानसभा बसेको हलमा प्रतिनिधिसभा बस्नेछ । ६०१ सदस्य अट्ने क्षमताको हलको सिट संख्या घटाउने तथा प्रतिनिधिसभा हल तयार पार्ने काम अघि बढेको छ । सचिवालयका अनुसार पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुनेछ । राष्ट्रिय सभा हलको कुर्सी, माइक, अध्यक्षको ड्यास पूरै नयाँ व्यवस्थापन गर्नुपर्ने भएकाले माघको दोस्रो सातामा हल तयार हुने सचिवालयले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]