Radio Golden Live..

नुवाकोटमा र सिन्धुलीमा बस दुर्घटना ३ को मृत्यु, ११ घाइते

काठमाडौं । नुवाकोट र सिन्धुलीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् ।
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक वृद्ध र एक महिलाको मृत्यु भएको नुवाकोट प्रहरीले बताएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई एम्बुलेन्सबाट थप उपचारका लागि काठमाडौं ल्याइँदै छ । स्थानीय यात्रु बोकेर समुन्द्रटारबाट त्रिशुलीतर्फ गुडेको बसमा ५० भन्दा बढी यात्रु रहेका थिए । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको नुवाकोट प्रहरीले बताएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ ।

यसैगरी सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु ६ जना गम्भीर घाइते भएका छन् । ना ६ ख ९१२ नम्बरको सो बस स्थानीय मुलकोट भन्ने स्थानमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बस सडकबाट करीब ३०० मिटर तल खसेर टुक्राटुक्रा भएको छ । बसमा जम्मा ८ जनामात्रै सवार रहेको रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]