काठमाडौं । भोजपुरमा रामप्रसाद राई गाउँपालिकामा भाइटीकाकै दिन भाइले दिदीको हत्या गरेका छन । वडा नम्बर बासीखोराका ४५ वर्षीय सुमन राईले भाइटीकाको साँझ काठको फल्याकले ४७ वर्षीया सरिता राईको टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
सुमनले गत कात्तिक २३ गते साँझ ५ः ४५ बजे दिदी सरिताको टाउकोमा काठको फल्याक प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। शुक्रबार सोही गाउँमा रहेकी दिदी यशोदा र रूपा राईको हातबाट भाइटीका लगाएका सुमन दिउँसो गाउँमा रमाइलो गरी साँझ घर आएका थिए।
घर आउन ढिला गरेको भनी दिदी सरिताले गाली गरेपछि आक्रोशमा आएर नजिकै कुखुराको खोरमा प्रयोग गरिएको काठको फल्याक प्रहार गरी दिदीको हत्या गरेको राईले स्वीकार गरेको प्रहरीले जनाएको छ।
मृतक सरिताको टाउकोको बायाँपट्टिको भाग काठको फल्याकले लागेर क्षतविक्षत भएको थियो। बिहीबार पक्राउ गरिएको राईलाई जिल्ला अदालत भोजपुरबाट प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न पहिलो पटक सात दिनको म्याद थपिएको छ।
गोल्डेन खबर