Radio Golden Live..

उपहार,नगद नलिन नदिन पत्रकार सम्मेलनमा आग्रह

 झापा । नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आग्रह गरेको छ ।
महासङ्घ झापा शाखाको हिजो बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक भएको र यसले विकृत रूप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आग्रह गरेको हो । बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्चले समाचार नै नहुने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएको उल्लेख छ ।
महासङ्घ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, सङ्घ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आग्रह गरेको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]