Radio Golden Live..

एभरेष्ट प्रिमियर लिग–चितवनको पहिलो जित

काठमाडौं । चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमा समेटियो ।विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वाधिक ९० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन ।

४२ बल खेलेको ह्यातले आठ छक्का र पाँच चौका प्रहार गरे । त्यसैगरी करण केसी २४ रनमा अविजित रहे भने आसिफ शेखले ३०, कप्तान खड्का १९ तथा अनिलकुमार साहले १२ रन जोडे ।बलिङतर्फ चितवनका ललितसिंह भण्डारी एक्लैले चार विकेट लिए भने सागर ढकालले तीन विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९६ रनको योगफल बनाएको थियो । चितवनका लागि जोन सिमप्सनले सर्वाधिक ७८ रनको योगदान दिएका थिए भने दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप सुनारले ३०, जर्ज स्कट २४ तथा पाउल स्टर्लिङले १५ रन जोडे ।विराटनगरका लागि वसन्त रेग्मी, पारस खड्का, करण केसी, तथा भान मिकरनले एक÷एक विकेट लिए । जितसँगै चार खेलबाट दुई अङ्क जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायम रहेको छ ।

त्यस्तै यता पराजित विराटनगरको पनि प्ले अफ सम्भावना कायमै छ । विराटनगरले चार खेलबाट चार अङ्क जोडेको छ । अङ्क तालिकामा विराटनगर तेस्रो तथा चितवन चौथो स्थानमा छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]