Radio Golden Live..

कांग्रेस महासमिति बैठक आज समापन हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली  कांग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ । आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। विधान मस्यौदामाथि बोल्ने क्रम विहानै देखि जारी छ । बैठकले विधान मस्यौदा, राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ ।

विधान बाहेक अन्य प्रतिवेदनमाथिको छलफल भने सम्पन्न भइसकेको छ । अन्य चार प्रतिवेदनमाथि बैठकको सुरु मै पेश भई छलफल भएपनि विधान मस्यौदा प्रतिवदेन भने शनिबार मात्र पेश भएको हो । विधान मस्यौदामा शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका विषयमा समय मै सहमति हुन नसक्दा उक्त प्रतिवदेन पेश हुन ढिलाइ भएको थियो ।

शीर्ष नेताबीच लामो रस्साकस्सीपछि शुक्रबार मात्रै पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा सहमति भएको थियो । सोही दिन उक्त प्रस्तावलाई पार्टीको केन्द्रीय कार्य समिति बैठकले सर्वसम्मतले पारित गरेको हो ।  कांग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । महामन्त्री एवं समितिका संयोजक खड्काले केन्द्रीय समिति बैठकबाट पारित विधान मस्यौदालाई शनिबार महासमिति बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

महासमिति बैठक गत मङ्सिर २९ गते नामावली दर्ता तथा स्वागत र यही पुस १ गते उद्घाटन भई सोही दिनदेखि बन्द सत्र शुरु भएको हो । पाँचै प्रतिवदेनमाथि सबै जिल्ला, निर्वाचन क्षेत्र, वर्ग, समुदाय, भूगोल समेटिने गरी करिब २५० सहभागीले आफ्ना धारणा राखिसक्नुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]