Radio Golden Live..

मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

म्याग्दी ।  भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान  हेलिप्याड  निर्माण भएको छ । गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिए । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ । यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन् । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]