काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता आयोजना हुनेगरी अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने घोषणा गरेका छन्। आज मदन भण्डारी स्पोर्टस् एकेडेमीको १०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सो रंगशाला निर्माणका लागि एक हजार रोपनी जग्गाको खोजी भइरहेको पनि जानकारी दिए।
मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि सरकारले सबै प्रदेशहरूमा एकरएक वटा रंगशाला निर्माण गर्ने योजना कार्यान्वयनमा लगिएको पनि जानकारी दिए। मन्त्री विश्वकर्माले सबै स्थानीय तहमा ‘खेल ग्राम’ बनाउने कार्यविधि पनि तय गरिएको बताए। सरकारले चालू आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा खेलग्राम स्थापना गर्ने योजना अघि सारेको थियो। सोही योजनालाई साकार बनाउन सोसम्बन्धि कार्यविधि तय गरिएको उनले बताए ।