Radio Golden Live..

‘क्लिन काष्ठमण्डप’ अभियान एक वर्षमा

काठमाडौं । उपत्यकाका विभिन्न स्थान सफाइ गर्दै आएको ‘क्लिन काष्ठमण्डप’ अभियानले एक वर्ष पूरा गरेको छ । एकवर्ष पूरा गरेका अवसरमा अभियानले ललितपुरको लगनखेल मङ्गलबजार–सातदोबाटो क्षेत्रमा जनचेतनामूलक अभियानसहित सरसफाइ गरेको छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रमा जथाभावी फोहर फाल्नेलाई जरिवानासहित कारवाही गर्ने कानूनी व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकारी  दिए ।

युवालाई फोहर नफाल्न जनचेतना जगाउने उद्देश्यले शुरु भएको अभियानलाई महानगरले साथ दिने उनको प्रतिबद्धता थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले फोहर फाल्ने चेतना नभए जतिसुकै विद्वान् भए पनि अर्थ नहुने बताए ।एक वर्षअघि राजधानी काठमाडौं उपत्यकालाई ‘डम्पिङ साइट’ बनाइनु हुन्न भन्ने उद्देश्यले अभियान शुरु गरिएको अभियानकर्मी केपी खनालले बताए ।

उपत्यकाका विभिन्न स्थानमा सङ्कलन भएको प्लाष्टिकलगायत फोहरबाट मोहरमा रूपान्तरण गरी जम्मा पारिएको रु ५० लाखबाट बाजुरामा अनाथाश्रम बनाउन लागिएको जानकारी पनि सो अवसरमा उनले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]