नेरेसोः दक्षिण एशियाकै सफल रेडक्रस’

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको विशेष महाधिवेशन यही फागुन १८–१९गते यहाँ हुँदैछ । महाधिवेशनले विराटनगर महाधिवेशनले पारित गरेको संशोधित विधानमा आएको समस्याबारे छलफल गरी संस्थागत निर्णय लिने बताइएको छ । सोसाइटीका सभापति सञ्जीव थापाले नेरेसो अरुभन्दा छुट्टै गैसस भएकाले छुट्टै मौलिक कानून बनाएर अघि बढ्नुपर्ने पत्रकारहरुलाई सोमबार बताए । दक्षिण एशियाकै सफल संस्था भएको जिकिर गर्दै गोरखा भूकम्पमा संस्थाले गरेको मानवीय सहयोग इतिहासकै सर्वाधिक उपलब्धि भएको बताए । उनका अनुसार भूकम्पपछि नेरेसोले सात हजार घर बनाउने लक्ष्य राखेकामा हालसम्म छ हजार ९५ घर निर्माण गरिसकेको छ । भूकम्पमा क्षतिग्रस्त भृकृटीमण्डपस्थित रक्तसञ्चार केन्द्रको काम ललितपुर ग्वार्कोमा सारिएकामा अब एक महीनाभित्र केन्द्रीय कार्यालय कालीमाटीमा अस्थायी केन्द्र राखिने पनि उनले बताए ।

नेरेसोका महामन्त्री देवरत्न धाख्वाले स्थापनाको ५५ वर्षमा नेरेसोले नेपालको छवि बनाउन सफल भएको जिकिर गरे। उनले दशवर्षे सशस्त्र द्वन्द्वका बेला राज्य र माओवादी पक्षलाई समदूरीमा राखेर जहाँ सरकार पुग्दैन त्यहाँ रेडक्रस भन्ने मान्यतालाई कायम राखिएको बताए । उपमहामन्त्री हरिप्रसाद न्यौपानेले नेरेसोका हाल नेपालका ७७ जिल्लाका १५१६ उपशाखामा ५ हजार ८३१ जुनियर रेडक्रस सर्कल रहेको जानकारी दिए । कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले गत वर्ष मुलुकका ७३ जिल्लाका एक सय आठ स्थानबाट तीन लाख ४४ हजार युनिट रगत र रक्ततत्व वितरण गरिएको र एम्बुलेन्स सेवा ६९ जिल्लाका १६९ स्थानबाट दिइएको  बताए । उनका अनुसार खानेपानी, सरसफाइ, स्वास्थ्य, जनजीविका विषय आदिका ९० परियोजना सञ्चालन गरिरहेको नेरेसोले भूकम्पका बेला गरेको सहयोगले ८० लाख लाभान्वित भएको जानकारी दिए। नेरेसोको मिडिया संयोजक दिव्यराज पौडेलले मिडिया र रेडक्रसबीच आपसी सहयोगका लागि आह्वान गरे । रेडक्रसको अन्तरराष्ट्रिय समितिका नेपाल नियोग प्रमुख अन्द्रे पेकेले रेडक्रस संस्थाहरुले आफूलाई सदैव पवित्र सावित गर्नुपर्नेमा जोड दिए। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घका नेपाल कार्यक्रम समन्वयकर्ता एर्वे गजेऔले समुदायका लागि सबैसँग समन्वय राखी आफूलाई दक्ष बनाउने रेडक्रसको प्रयत्न रहिरहने बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: goldenkhabar75@gmail.com