सरकारी चिकित्सकद्वारा आकस्मिकबाहेकका सेवा ठप्प ,बिरामीको बिचल्ली

काठमाडौं । सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले आजबाट आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् । डाक्टरहरुको आन्दोलनका कारण बिरामीहरु मर्कामा परेका छन् । काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन् । उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प छ । कर्मचारी समायोजन विधेयकको विरोध गर्दै सरकारी डाक्टरहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । यसअघि उनीहरुले धर्ना, र्‍यालीलगायतका कार्यक्रम गर्दै आएका थिए । सबै सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने माग उनीहरुको छ । त्यसैले पूर्वघोषित कार्यक्रम अनुसार, सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेका हौं ।’ वीर अस्पतालको ओपीडी कक्षमा टाँसिएको सूचनामा लेखिएको छ  चिकित्सकहरुको वैज्ञानिक एवं व्यवहारिक समायोजनलगायतका लागि महिनौंको पहल पश्चातसमेत हाम्रो जायज आवाज नसुनिएपछि हामी चिकित्सकहरु यही अवस्थामा सेवा दिन असमर्थ भएका छौं । सरकारी चिकित्सक संघको यो आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । त्यसैले उपचार सस्तो हुने सरकारी अस्पतालहरुमा उपचार सेवा प्रभावित भएको छ । सरकारी अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरु निजी अस्पतालमा जान बाध्य छन् र महंगो शुल्कको मारमा परेका छन् । देशभर करिब १४ सय सरकारी डाक्टर छन् । उनीहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: goldenkhabar75@gmail.com