Radio Golden Live..

सडकमा भिक्षा माग्नेले जेल जानुपर्ने

काठमाण्डु, २४ मंसिर– अबदेखि काठमाण्डु उपत्यकाका सडकमा भिक्षा माग्नेले जेल जानुपर्ने भएको छ ।

काठमाण्डु महानगरपालिकाले आगामी २९ मंसिरदेखि सार्वजनिक स्थलमा भिक्षा माग्ने र माग्न लगाउने कार्य निषेध गर्दै यदि कसैले भिक्षा मागेको र माग्न लगाएको पाइएमा कारबाही गर्ने स्पष्ट गरेको छ । महानगरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भिक्षा माग्ने र माग्न लगाउनेमाथि जेल र जरिवाना हुने बताएको हो । ‘मुलुकी अपराध संहिताको दफा १२६ ले समेत भिक्षा माग्न र भिक्षा माग्न प्रत्साहन गर्न नहुने र गरेमा बढीमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ’, सूचनामा भनिएको छ ।

कानुन पालना गर्नु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै महानगरले भिक्षा माग्ने र माग्न लगाउने प्रवृत्तिको अन्त्यका लागि आवश्यक सहयोगका लागि नगरवासीलाई अपिल पनि गरेको छ । महानगरले २५ औं महानगर दिवसको अवसर पारेर २९ मंसिरमा महानगर क्षेत्रभित्रका सार्वजनिक स्थलहरुमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी र सडक आश्रितहरुका लागि अभिभावकत्व ग्रहण गरी उनीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न एक अभियानको घोषणा गरिने पनि उल्लेख छ ।

अभियानको नाम ‘बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी, सडक आश्रित मानवरहित काठमाण्डु महानगरपालिका’ राखिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]