सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सको विजयी सुरुवात

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग बीबीएल क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गर्दै मेलबर्नले सुखद सुरुवात गरेको हो ।
मेट्रिकन स्टेडियममा मेलबर्नले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।

ब्रिसबेनका टम बेन्टनले ६४ रन जोड्दा म्याट रेनशले ३९ रन बनाए । मेलबर्नका एडम जाम्पाले ३ विकेट लिए । डानिल वरेल र हरिस राउफले २र२ विकेट लिए ।

सन्दीपले ३८ रन खर्चेर १ विकेट लिए । गत सिजन बीबीएलमा डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ८३ अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पिटर ह्यान्ड्सकम्बले २० रन जोड्दा हिल्टन काटराइटले १८ रन बनाए । मार्कुस स्टोनिसले १६ रन जोडे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]