Radio Golden Live..

राष्ट्रियसभा सदस्यको, उम्मेदवार मनोनयन दर्ता

पुस २० काठमाडौं

आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुुदैछ ।आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एकजना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेश गर्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित वा अल्पङ्ख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]