Radio Golden Live..

अमेरिकामा कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु

विश्वभर त्रास फैलाइरहेको नयाँ कोरोना भाइरस (कोभिड-१९) ले संयुक्त राज्य अमेरिकामा समेत एकजनाको मृत्यु भएको छ ।

अमेरिकाको वासिंगटन राज्यस्थित सियाटलमा कोरोना संक्रमित ती व्यक्तिको फेब्रुअरी २९ शनिवार मृत्यु भएको सो राज्यका स्वास्थ्य अधिकारीहरुले प्रमाणित गरेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरस संक्रमणका केही विरामी भए पनि सो भाइरसका कारण मृत्यु हुने यो नै अमेरिकाको पहिलो केस हो ।

वासिंगटन राज्यअन्तर्गतको किङ्ग काउण्टीको स्वास्थ्य विभागका अधिकृत डा। जेफ्री डचिनलाई उदृत गर्दै सिएनएनले जनाएअनुसार, कोरोना संक्रमित विरामी ५० बर्षभन्दा माथिको उमेर भएका र विभिन्न स्वास्थ्य समस्या भएका पुरुष हुन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणका विरुद्ध योजनाबद्ध तरिकाले अभियान चलाइने बताइसकेका छन् । आफ्नो प्रशासनले मुलुकवासीको स्वास्थ्यलाई गम्भीरतापूर्वक संबोधन गरिरहेको र कोरोना भाइरसविरुद्धको अभियानमा पनि संवेदनशील भएको सन्देश दिनका लागि राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई नै अभियानको नेतृत्व दिएको घोषणा गरेका थिए ।

अमेरिकामा यो भाइरस संक्रमित थोरै विरामीमध्ये ४ जना विरामीले अन्यत्र कतै यात्रा नगरेको र वाहिर यात्रा गरेका व्यक्तिहरुको सम्पर्कमा पनि नआएको तर कोरोना परिक्षण गर्दा पोजिटिभ पाइएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]