Radio Golden Live..

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको आज (बुधबार) दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदै छ । मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मिर्गौला आज बिहान ९ बजे प्रत्यारोपण हुने भएको हो ।

अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ‌ओलीलाई आवश्यक औषधि दिन थालेको जानकारी दिएको छ । मंगलबार उनको प्रि–ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएकाले बुधबार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुने वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवालीले जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ । उनले भने, ‘प्रत्यारोपणको शल्यक्रिया ३–४ घण्टामा सकिन्छ । प्रत्यारोपण सफल भएमा ५–६ दिनमा डिस्चार्ज गर्न सकिन्छ ।’
प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भीभीआईपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ । अस्पतालमा भीभीआईपीका लागि ६०१ र ६०२ गरी दुई वटा क्याबिन बनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन् । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा. डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा। पवनराज चालिसे, डा। उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा. डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ ।

सातामा बुधबार दुई वटा मात्रै मिर्गौला प्रत्यारोपण हुने गरेको त्रिवि शिक्षण अस्पतालमा आज प्रधानमन्त्री ओलीको मात्रै प्रत्यारोपण गर्ने अस्पतालको तयारी छ । हालसम्म त्रिवि शिक्षण अस्पतालमा ८ सय वटा मिर्गौला प्रत्यारोपण भइसकेको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा एक जना भारतीय चिकित्सक पनि सहभागी हुने भएका छन् । म्याक्स अस्पतालका प्रा.डा. अनन्तकुमार मिर्गौला प्रत्यारोपणमा सहभागी हुने भएका हुन् । त्यसका लागि प्रा. डा. अनन्तकुमारले नेपाल मेडिकल काउन्सिलबाट मंगलबार ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृतिसमेत लिएका छन् ।

ओलीको मिर्गौला प्रत्यारोपणमा सघाउन भारतबाट दुई जना चिकित्सक आएका छन् । तर, अर्का एक जना चिकित्सकले अब्जरभेसनमै रहने भन्दै स्वीकृति लिएका छैनन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]