फ्रान्सबाट आएकी एक युवतीमा कोरोना देखियो, महिलासँगै आएकाहरुको खोजी गरिँदै

काठमाडौंमा एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रालयमा आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन्।

१९ वर्षकी उनी चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी हुन् । तर त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेकी थिईन् । हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री ढकालका अनुसार, उनको परिवार र घरमा क्वारेन्टाइनमा रहँदा सम्पर्कमा भएकालाई परीक्षण गर्ने र आइसोलेसनमा राख्ने काम हिजो (आइतबार) देखि नै शुरु भएको छ। त्यस्तै, उनीसँगै आएका अरुको पनि खोजी गरेर परीक्षण गर्ने प्रयास शुरु भइसकेको उनले बताए।

यसअघि नेपालमा गएको ९ माघमा परीक्षण गर्दा एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो, जो उपचारपछि निको भइसकेका छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]