बझाङको छविसपाथिभेरा गाँउपालिका-३ मा धार्मिक मेला बान्नीकी चैतली संचालन गरेको आरोपमा जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिन नदिन देशमा लकडाउन भइरहेको बेला यहाँका स्थानीय बासिन्दाहरुले लकडाउन उल्लंघन गरेको भन्दै बुधबार उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे।
पक्राउ पर्नेमा छविस पाथिभेरा गाउँपालिका २ का वडाअध्यक्ष विकास अयडी, वडा नं. ३ का वडाअध्यक्ष केशवराज जोशी, वडा नं. ४ का वडाअध्यक्ष अम्मरराज थापा र वडा नं. ५ का वडाअध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्ना रहेका प्रहरी निरीक्षक बोहराले जानकारी दिए।
जनप्रतिनिधिसँगै बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी फसलपाते पण्डित डम्बर बहादुर धामी र पूजारी जयकृष्ण जोशीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए। स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बोहराले बताए।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए। लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए। कोरोनाको त्रासले देश नै लकडाउनमा गएको समयमा यहाँका स्थानीय त्यसको बेवास्ता गर्दै चैत २४ गते हजारौको संख्यामा मेला सम्पन्न गरेका थिए।
बझाङको छबीस पाथिभेरा गाँउपालिका वडा नं. ३ को बान्नीचौरमा चैतली मेला लागेको थियो । हरेक वर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाइने बान्नीको चैतली यस वर्ष चैत्र २४ गते परेको थियो। सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा सम्मेलन, अनाआबश्यक भिडभाड गर्नमा रोक लगाएको भएपनि बान्नीकी चैतलीमा भने स्थानीयको घुइँचो लागेको थियो।
विश्वमा महामारीको रुपममा फैलिएको कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या नेपालमा पनी बढेसँगै सरकारले थप प्रभावित नहोस भन्ने उदेश्यले लकडाउनको घोषण गरेको हो । प्रसिद्ध चैतली मेलामा तल्लो छबीस र मल्लो छबीसबीच भकुण्डो खेल्दा विवाद भएपछि दुईजना घाइतेसमेत भएका थिए । दुई पक्षबीच ढुङ्गामुडा भएपछि दुईजना घाइते भएका हुन् । सुदुर पश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरुले बान्नीको कांकर र मष्टाको दर्शन गरेका थिए ।
परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको उक्ति छ। मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मा देवी प्रकट भइ महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ । सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ ।
झण्डै ४० / ५० मिटर लामो कांकरलाई मानिसहरुले समाएर ३ सय मिटर जति हिँडाउने गर्छन्। यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छबीस र मल्लो छविसका बासिन्दाबीच भकुन्डो खेल्ने प्रचलन छ।