Radio Golden Live..

लकडाउनमा हिँडेर घर फर्किएका युवाको खसेर मृत्यु

धादिङ्गमा लकडाउन कडा पार्ने भन्दै पुलमा बार लगाएपछि चितवनबाट हिँडेर आफ्नै घर जान लागेका एकजनाको लडेर मृत्यु भएको छ ।

गोरखा र धादिङ्ग जोड्ने बुङ्कोटघाटको पुलबाट लडेर ज्वालामुखि गाउँपालिका ५ बाँझाघरका होम बहादुर रानामगरको मृत्यु भएको हो ।

सो पुलमा वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले तारबार गरेर हिँड्न नमिल्ने बनाएका थिए ।

मृतक मगर आफ्नो घरतर्फ जान लागेको बेला बार नाघ्न खोज्दा लडेर मृत्यु भएको प्रहरीले बताएको छ ।

रोजगारीका लागि चितवनमा रहेका युवा बुधबार आफ्नो घर फर्कँदै थिए ।

परिवारसहित चितवनमा बस्दै आएका उनका परिवार लकडाउन अघिनै गाउँ फर्किए पनि उनि भने केहि दिनमा लकडाउन खुल्ने आशामा चितवनमै बसेका थिए ।

तर लामो समयसम्म लकडाउन जारी रहेपछि उनि गाउँ फर्किएको परिवार स्रोतले बताएको छ ।

मृतकले बुधबार राति आफू घर आईरहेको जानकारी परिवारलाई समेत गराएका थिए । मृतक रानाले परिवारलाई आफूलाई लिन आउन भनेपछि परिवार उनलाई लिन बुधबार राति करिव ११ बजेतिर बुंकोटघाट पुगेको थियो तर पुल वरपर खोज्दा कतै फेला नपारेपछि र फोन पनि पनि नलागेपछि फर्किएका थिए । बिहिबार बिहान पुनः खोज्न जाँदा पुल मुनि मृत अवस्थामा रानाको शव फेला पारिएको हो ।

बागमती प्रदेश र गण्डकी प्रदेशको सिमाना समेत रहेको बुढीगण्डकीस्थित बुंकोटघाट पुलमा लकडाउन कडा पार्ने भन्दै छेकबार लगाइएको थियो । छेकबार लगाउने काममा वडाध्यक्ष काप्रीको समेत सहभागी थियो ।

उनको मृत्युपछि रूख काटेर बाटो छेकेको तथा पुलमा छेकबार गरिएको भन्दै स्थानीयले बिरोध गरेका छन् । त्यसरी छेकबार गर्दा तथा बाटोमा अवरोध गर्दा अत्यावश्यक एम्बुलेन्स सेवा समेत प्रभावित हुनसक्ने भन्दै आलोचना गरिएको छ । सडक तथा पुलमा भाँजो हालेर समस्याको समाधान नहुने भन्दै त्यसलाई हटाउन आग्रह गरिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]