Radio Golden Live..

नेपालमा थप १० जनामा कोरोना, संक्रमित संख्या २ सय ९१, हालै भारतबाट आएका थिए

नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा। अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

शनिबार नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिला हुन् ।

रौतहटका १० जना संक्रमित हालै भारतबाट आएका थिए

रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ ।

राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ ।

उनीहरुलाई सीधै क्वारेन्टाइनमा लिइएकोले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाइने प्रजिअ घिमिरले बताए ।

योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमति फेला परेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]