Radio Golden Live..

चितवनका २९ क्वारेन्टिनमा २६२ जना,कतै व्यवस्थित कतै कामचलाउ

स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न बनाइएका कतिपय क्वारेन्टिन झारा टार्ने खालका मात्र भएका छन् । स्थानीय स्कूल भवन देखाएर मात्रै क्वारेन्टिन भन्ने गरेको पाइएको छ । जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टिन बनाउने निर्णय भएको छ । सात स्थानीय तहमा ९८ वडा छन् । माडी नगरपालिकाले वडा सङ्ख्याभन्दा दुई बढी क्वारेन्टिन बनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्टिन बनाउन सकेका छैनन् ।

भरतपुर महानगरपालिका–२८ का वडाध्यक्ष आसबहादुर कुमालले स्थानीय सरस्वती माविलाई क्वारेन्टिन बनाएको बताउनुभयो । आफ्नै घरबाट गुन्द्री, कम्मल, झुल, तन्ना ल्याउन भनिएको उहाँको भनाइ छ । खाना पनि घरबाटै ल्याउन लगाइएको छ । क्वारेन्टिनमा हाल आठ जना छन् । दुई बाटोमा आउँदै गरेको र चार सुनौलमा आइसकेको उहाँले जानकारी दिनुभयो । स्कूलका बेञ्च जोडेर सुत्न उनीहरु बाध्य छन् । जिल्लाका कतिपय वडाहरुको अवस्था पनि यस्तै रहेको पाइएको छ ।

भरतपुर महानगरपालिका–११ को क्वारेन्टिन भने व्यवस्थित गरिएको छ । वडाध्यक्ष बाबुराम अधिकारीका अनुसार कमलामाई मन्दिरमा १६ श्ययाको क्वारेन्टिन तयार गरिएको छ । मेडिकल कलेजको श्यया, स्थानीयवासीको सहयोगमा खाट, पङ्खाजस्ता सामग्री मागेर क्वारेन्टिन व्यवस्थित गरेको उहाँले बताउनुभयो । मङ्गलबारबाटै क्वारेन्टिनमा खाना खुवाइने उहाँको भनाइ छ ।

क्वारेन्टिनको मापदण्डअनुसार शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा १४ दिनदेखि १७ दिनसम्म राख्नुपर्ने हुन्छ । क्वारेन्टिनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्यूनतम दूरी तीनदेखि पाँच फिट हुनुपर्ने तोकिएको छ । सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टिनमा बस्ने व्यक्तिले अरुलाई हीनतावोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्वारेन्टिनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टिनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिनेजस्ता विषय उल्लेख गरिएको छ ।

क्वारेन्टिनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्यरूपमा मुख छोप्नुपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकिन गरेर मात्रै खानुपर्ने, कुनै पनि पक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ । सो मापदण्डअनुसारको क्वारेन्टिनमा दिनमा चारपटक खाना खान पाइन्छ । जसअनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवाखाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये कतिपयले क्वारेन्टिन व्यवस्थित गरेका छन् भने कतिपयले बेञ्च जोडेर काम चलाउने गर्दै आएका छन् । यो समस्या अरु स्थानीय तहमा पनि छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सबै वडालाई व्यवस्थित क्वारेन्टिन बनाउन भनिएको बताउनुभयो । कपडा पठाइएको र जुटाउन नसक्नेलाई खाट, लोबेडजस्ता सामग्री महानगरपालिकाले नै उपलब्ध गराउने उहाँको भनाइ छ । दुई वडामा खाट किनेको उहाँले बताउनुभयो । हाल महानगरमा सातदेखि २६ सम्मका २९५ जना क्षमताको क्वारेन्टिन रहेको उहाँको भनाइ छ । महानगरले क्वारेन्टिनमा बस्नेलाई रु चार हजार बराबरको खानाका लागि बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले क्वारेन्टिनमा बस्नेहरु सङ्क्रमित पनि हुनसक्ने भएकाले मापदण्डअनुसार आरामदायी क्वारेन्टिन बनाउनुपर्ने बताउनुभयो । क्वारेन्टिनमै बसेर सङ्क्रमण निको भएर फर्कनुपर्ने अवस्था आउन सक्ने भएकाले मानवीय न्यूनतम सुविधा हुने गरी क्वारेन्टिन बनाउनुपर्ने उहाँको भनाइ छ ।

जिल्लका क्वारेन्टिनमा गुणस्तर सुधार आवश्यक रहेको भट्टराईले बताउनुभयो । आज जिल्लाका २९ क्वारेन्टिनमा २६२ जना रहेको भन्दै उहाँले सबै वडामा क्वारेन्टिन बनाउन भनिएको जानकारी दिनुभयो । कतिपय ठाउँमा समुदायको अवरोध भएकाले क्वारेन्टिन बनाउन समस्या भएको छ । स्थानीय तहमै त्यसको व्यवस्थापन गर्दै न्यूनतम मापदण्ड पूरा हुने गरी क्वारेन्टिन बनाउनुपर्ने उहाको भनाइ छ । रासस

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]