Radio Golden Live..

असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण गर्छौंः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आगामी असार १५ देखि दैनिक १० हजार जनाको पिसिआर परीक्षण हुने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा सासंदहरूले पिसिआर परीक्षणको विषयलाई लिएर उठाएको प्रश्नको जवाफमा मन्त्री ढकालले ठूला मेसिन किनेर दैनिक १० हजार जनाको परीक्षण गर्ने तयारी भएको जनाए।

‘यो असार १५ देखि प्रत्येक दिन १० हजार जनाको पिसिआर रिपोर्ट दिनसक्ने गरी व्यवस्थापनमा जुटेका छौं,’ उनले भने।

मन्त्री ढकालले अहिलेको पिसिआर परीक्षण क्षमताले वर्तमान आवश्यकता पूरा गर्ने अवस्था नरहेको भन्दै थप मेसिन खरिद गर्ने तयारी रहेको बताए। सातवटै प्रदेशमा एक-एक वटा ठूला मेसिन जडान गर्ने सरकारको तयारी रहेको पनि उनले जनाए।

उनले दैनिक ४ हजारभन्दा बढीको पिसिआर परीक्षण भए पनि भारतबाट ठूलो संख्यामा मानिसहरू आएकाले परीक्षण धान्न गाह्रो भएको उल्लेख गरे।

पछिल्लो समय प्रयोगशाला क्षमताका कारण आवश्यक मात्रामा पिसिआर परीक्षण हुन सकेको छैन। अहिले देशभर २१ वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ।

यीमध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक हजार जनाको परीक्षण गर्नसक्छ। बाँकी प्रयोगशालाहरूको दैनिक क्षमता २५० छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]