Radio Golden Live..

ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समिति खारेज हुने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठनको भएको समितिले सन्तोषजनक काम गर्न नसकेपछि सरकारले निष्कृय बनाउँदै लैजाने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले समितिको कामलाई लिएर असन्तुष्टी जनाउँदै आएका थिए ।

विश्वव्यापी महामारीको रुपमा फैलिँदै गरेको कोरोना भाइरस नेपालमा पनि देखिन थालेपछि सरकारले पोखरेलको समिति गठन गरेको थियो ।

सीसीएमसीबाट नै कोरोना रोकथा तथा नियन्त्रणका सबै काम गर्ने गरी समितिलाई निष्कृय बनाउँदै लैजाने एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले ईश्वर पोखरेल संयोजक रहेको समितिको काममा असन्तुष्ट भए पनि समितिलाई निष्कृय बनाउँदै लैजाने बताएका थिए ।

‘म बिरामी भएका बेला गठन भएको समिति हो । कोरोना नियन्त्रण गर्न विश्वमा प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भएकाले अब म ठिक भएर आइसकें यसलाई निष्कृय बनाउँदै लैजानुपर्छ,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले काठमाडौंपाटीसँग भने ।

समितिमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा सदस्य थिए ।

त्यस्तै सरकारले समितिलाई खारेज गरेर कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर(सीसीएमसी) लाई थप सक्रिय बनाउने भएको छ ।

गत चैत १६ गते प्रधानमन्त्री कार्यालयको सचिवको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने गरी सीसीएमसी गठन भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसहित रहेको सीसीएमसी विश्वसनिय हुने भएकाले एकैतिरबाट मात्र काम गर्नेगरी समिति खारेज गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण गर्न नेपाली सेनाको कामप्रति विश्वास गर्दै आएका छन् । यद्यपी सेनालाई नै कोरोना नियन्त्रण तथा रोकथामको जिम्मा दिनुपर्ने आवाज उठ्दै आइरहेको छ ।

विदेशबाट आएका नेपालीको व्यवस्थापनको जिम्मा नेपाली सेनाले नै पाएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसी पुर्नगठन गरेको छ ।

जसमा चारमन्त्री थपिएका छन् । ऊर्जामन्त्री वर्षमान पुन, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थपिएका हुन् ।  सीसीएमसीमा बिभिन्न मन्त्री, चार सुरक्षा निकाय प्रमुख लगायत सदस्यहरु रहेका हुन्छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]