Radio Golden Live..

शैलेश थापा क्षत्री आईजीपीमा नियुक्त

सरकारले नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ ।महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाएको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेकाे हाे ।  उनको कार्यकाल २२ महिनाको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेका हुन् ।प्रधानमन्त्री ओलीले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गरेका हुन् ।

को हुन् क्षत्री ?

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनले धेरैजसो समय महानिरीक्षकको सचिवालय र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा बिताएका छन् ।

थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।

पाँच महानिरीक्षकसँग काम गरेका थापा नीति निर्माण, अनुसन्धान र चेनअफ कमाण्डको कार्यान्वयनमा सफल मानिन्छन् । त्यस्तै थापा सुडान, पूर्वी टिमोर र बोस्निया मिसनमा  समेत गएका थिए ।

उनको कार्यकाल ०७९ वैशाख १९ गतेसम्म हुनेछ । थापालाई तत्कालिन आईजीपी सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले पत्ता लगाउन नसकेको निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने चुनौती र अवसर दुवै छ ।

प्रहरी संगठनको कर्तव्यप्रति अडिग रहने थापाको राजनीतिक नेतृत्वसंग भने त्यति घनिष्ठ सम्बन्ध नभएको उनलाई नजिकबाट चिन्नेहरु बताउंछन् । । थापाले प्रहरी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए । त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए । थापा यसअघी प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गरेका थिए ।

थापासँगै जागिर सुरु गरेका ६० जनामध्ये केही अहिले डीआईजी छन् । अरु एसएसपी र एसपीमा रोकिएका छन् ।

हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरी मुख्यालयले नयां आईजीपीको स्वागत र हालका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको विदाई कार्यक्रममा उपस्थित हुन सातै प्रदेशका डिआईजीलाई काठमाडौं बोलाइसकेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]