Radio Golden Live..

महिलामाथि भएका अपराधका घटनाका दोषीलाई कारबाही नगरिए सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने महिला संघकाे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घटनाका दोषीहरूलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।

दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने कडाभन्दा कडा कारबाही नगरिए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी संघले दिएको छ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाइएको घटना, निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज दुई वर्ष पुग्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको, हिट एण्ड रन मुद्दाका अभियुक्त पृथ्वी मल्ललाई पाँच लाख धरौटीमा रिहाई गरिएको र युवतीमाथित एसिड आक्रमणलगायतका घटनाको विरोध गर्दै सबै घटनाका दोषीहरूलाई कारबाही गर्नुपर्ने माग गरेको हो।

कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्व सांसद धना खतिवडाले महिला हिंसाका घटनाहरु दिनप्रतिदिन बढिरहेको बताउँदै दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन्।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदासमेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेको गुनासो गरिन्। उनले भनिन्, ‘आज दुई वर्ष हुँदासमेत सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न सकेको छैन। देशमा कानूनी राज्यको उपहास भएको छ।’ बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही नहुँदा अपराध गर्नेहरुको मनोवल बढेको उनको टिप्पणी छ।

बर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले यतिवेला आम जनता सचेत हुनुपर्ने अवस्था समेत आएको उनको जोड छ।

उनले एसिड आक्रमण गर्ने अपराधीहरुलाई कडा कारबाही गरिनुपर्ने जोडदार माग गरिन्। त्यस्तै, श्रीमतीको हत्या गरेको आरोपमा सर्वस्वसहित जन्मकैद पाएका पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्चले कैद मिनाहा गरेको फैसलाप्रति उनले घोर आपत्ति जनाइन्।

आफूले विगतदेखि नै महिलामाथि हुने जघन्य अपराध र हिंसाका घटनामा संलग्नहरूलाई कानुन संशोधन गरेर भए पनि कडाभन्दा कडा कारबाही गरिनुपर्ने आवाज उठाउँदै आएको स्मरण गराउँदै खतिवडाले भनिन्, ‘अन्तर्राष्ट्रिय कानून संशोधन गरेर भए पनि बलात्कारपछि हत्या गर्नेजस्तो जघन्य अपराध गर्ने, जिउँदै जलाउनेलगायतका घटनामा संलग्न दोषीहरुलाई मृत्युदण्ड नै दिनुपर्छ भन्ने मेरो मान्यता हो।’

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदा पनि महिलामाथि हिंसाका घटना नरोकिएकोमा दुःख व्यक्त गरिन्। उनले सबै मिलेर महिलामाथि हुने अन्यायको विरुद्धमा संघर्ष गर्नुपर्ने पनि बताइन्। एसिड आक्रमण, गीता ढकालको हत्यादेखि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीहरुलाई कानूनी कठघरामा उभ्याईनुपर्ने उनको माग छ।

कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताइन्। न्यायलयका तुलोको एकातर्फ न्याय र अर्कोतर्फ पैसा देखिएको भन्दै आफूहरुलाई यसले लज्जाबोध भएको उनको भनाइ छ।

उनले भनिन्, ‘म नेपाल सरकारसमक्ष प्रश्न गर्न चाहन्छु–देशमा न्याय कहाँ गयो ? अपराधीलाई चोख्याउने काम न्यायलयबाट हुनुहुँदैन्। हामी यहीँबाट खबरदार गर्न चाहन्छौं।’
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा दुई तिहाई बहुमतको दम्भ देखिएको पनि उनको आरोप छ।
‘दुई तिहाईकै दम्भमा तपाईले न्यायलयलाई पनि आफ्नो बशमा लिनुभयो। तपाईका कारण यो प्रणाली र व्यवस्थामाथि आक्रमण भएको छ। हामी यो व्यवस्था टिकाईराख्न तपाईविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ।’उनले भनिन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]