Radio Golden Live..

चितवन बसेर इन्स्टाग्राममा विदेशीको फोटो राख्दै उपहारको नाममा ठगी

सामाजिक सञ्जालमार्फत उपहारको प्रलोभन देखाएर ठग्ने गिरोहका ३ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनामा संलग्न रहेको आशंका गरिएका अन्य ६ जना भने फरार छन्।

पक्राउ पर्नेमा राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनी बस्ने शिवराज पाठक, धादिङ धुनीवेशी–२ घर भई हाल मकवानपुरको हेटौडा–४ बस्ने सत्कार लुईंटेललाई रहेका छन्।

भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानाले राजकुमार थापासहितको गिरोहले इन्स्टाग्राम र ह्वाटसएपको प्रयोग गरी उपहार पठाइदिन्छु भन्दै २ लाख ५३ हजार २ सय ४० रुपैयाँ ठगी गरेको भनी दिएको जाहेरीमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन्।

आरतीले राजकुमार थापासहितको गिरोहले इन्स्टाग्राम र ह्वाटसएपको प्रयोग गरी उपहार पठाइदिन्छु भन्दै २ लाख ५३ हजार २ सय ४० रुपैयाँ ठगी गरेको जाहेरी दिएकी थिइन्।

त्यसपछि सुरू भएको प्रहरी अनुसन्धानमा चितवनको राप्ती नगरपालिका–८ मा रहेको मेसन मनी ट्रान्सफरबाट प्रेमबहादुर राना नामका व्यक्तिले शंकास्पदरुपमा पटक–पटक ठूलो परिमाणमा रकम निकाल्ने गरेको जानकारीमा अनुसन्धानका लागि राजकुमार थापामगर पक्राउ गरेपछि उनीहरूको ठगी धन्दा खुलेको हो।

प्रहरीका अनुसार राजकुमारले प्रेमबहादुर रानाको नाममा आफ्नो फोटो राखेर नक्कली सवारी चालक अनुमतिपत्र बनाएर मनी ट्रान्सफरबाट पैसा झिक्ने गरेको थिए। उनको साथबाट प्रहरीले राजकुमारको नागरिकता प्रमाणपत्रको फोटोकपी, सवारी चालक अनुमतिपत्र फेला पारेको छ।

राजकुमारले ठगी गरेर आएको रकम अन्य मतियारको खातामा जम्मा गर्ने गरेका थिए।

पक्राउ परेका राजकुमार थापा मगरले प्रेमबहादुर राना र सन्जना पाठकको नाममा आफ्नो फोटो राखेर बनाएको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी लाईसेन्स प्रयोग गर्दै आफूलाई पठाइएको रकम सत्कार लुईंटेल, रामकुमार तामाङ, निशा कुसुम भट्टराई, लोकप्रसाद भुर्तेल, मञ्जु केसी र तोजबहादुर केसीको बैंकका खातामा जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ।

भारतको दिल्लीमा बस्दै आएका राजकुमार थापा मगरका भाइ सोमराज थापा मगर पनि ठगीमा प्रयोग भएका छन्।

सोमराजले जाहेरवालाहरूबाट पटक–पटकगरी ५ लाख २८ हजार ८ सय ८५ रुपैयाँ र अन्य व्यक्तिहरूबाट ६ लाख ५७ हजार ९ सय ७५ रुपैयाँ ठगी गरेको खुलेको छ।

राजकुमार थापालगायतले फेसबुकमार्फत मोरङको लेटाङ नगरपालिका–९ बस्ने बिष्णुकुमारी राईलाई उपहार पठाइदिन्छु भन्दै आफ्नो नाममा १ लाख ८५ हजार १ सय ९० रुपैयाँ र सन्जना पाठकको नाममा ८९ हजार ४ सय ५ र १ हजार ५० रुपैयाँगरी २ लाख ७५ हजा्र ६ सय ४५ रुपैयाँ पठाउन लगाएका थिए।

भरतपुर–११ बस्ने भतिजा केशव पाल्पाली कुमालले पनि बिष्णुकुमारी राई माथि ठगी गरेको भन्दै प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका छन्।

यसरी गर्थे ठगी

उनीहरूले इन्स्ट्राग्राममा विदेशीको फोटो राखेर नक्कली खाता बनाएर महिलाहरूलाई साथी बनाउँथे।

साथी बनेपछि आफूहरू इटाली, अमेरिका, अष्ट्रेलिया, सिंगापुर, फ्रान्स जस्ता विकसित देशबाट बोलेको बताउँथे।

त्यसपछि कुराकानीमार्फत घनिष्टता बढाई उपहार आइफोन, ब्राण्डेड ब्यागहरु, ब्रासलेट गहनाहरू पठाई दिन्छु भन्ने र पाउने व्यक्तिको ठेगानामा सामान कुरियर गरेको बिल र सामानहरूको समेत फोटो पठाई विश्वास दिलाउने गरेका थिए।

त्यसपछि उनीहरूले सामान पठाउन कुरियर खर्च र कर वापतको ५ सय देखि ८ सय डलर लाग्ने भन्दै मनि ट्रान्सफरमार्फत फेरि पैसा पठाउन लगाउने गरेका थिए।

त्यसपछि पुनः सामान भारतको एयरपोर्टमा आइपुगेको र कस्टम, वेयरहाउस फि, लेट फि नतिरेको कारण सामान रोकिएको भन्दै कुरियर कम्पनीको नामको ईमेलबाट सम्पर्क गरी १ हजार ५ सय रुपैयाँ लाग्ने भन्दै मनि ट्रान्सफरमार्फत थप पैसा पठाउन लगाउने गरेका थिए।

उनीहरूलाई ठगी मुद्दा र लिखत सम्बन्धी कसुर मुद्दामा अनुसन्धान प्रतिवेदन सहित जिल्ला अदालत चितवनमा पेस गरेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]