Radio Golden Live..

‘इच्छा मरण’को निवेदनले सनसनी मच्चाउने भारतीय पारलैङ्गिक व्यक्ति ःअनीरा कबीर

गत वर्ष नोभेम्बरमा अनीरा कबीर जागिरका लागि दुई महिनाबीच दिएको १४औँ अन्तर्वार्तामा टोपी, अनुहार लुकाउने मास्क र पुरुषका पहिरन लगाएर सहभागी भइन् ।

३५ वर्षीय यी पारलैङ्गिक महिलाका भनाइमा उक्त कदम त्यस अघिका अन्तर्वार्तामा सामना गर्नुपरेका पारलैङ्गिक व्यक्तिप्रति हेय भाव राखेर गरिने टिप्पणीबाट उत्पन्न निराशाको परिणाम थियो ।

उनले दक्षिणी भारतीय राज्य केरलाको सरकारी विद्यालयमा आंशिक कर्मचारीका रूपमा जागिर पाइन् । तर त्यहाँबाट पनि दुई महिनाभन्दा कम समयपछि आफूलाई अन्यायपूणर् तरिकाले बर्खास्त गरिएको उनको आरोप छ ।

उक्त विद्यालयका प्रधानाध्यापकले यसबारे टिप्पणी गर्न अस्वीकार गरे । जिल्ला अधिकारी पी कृष्णनले ती प्रधानाध्यापकसँग उक्त मामिलालाई लिएर कुराकानी गरेको बताएका छन् ।

विद्यालयका प्रधानाध्यापकले कबीरलाई बर्खास्त नगरिएको बरु परिस्थितिलाई ती पारलैङ्गिक महिलाले “गलत अर्थमा लिएको” जानकारी दिएका छन् ।

अन्य कुनै विकल्प नभएपछि जनवरीमा कबीरले उक्त राज्यको कानुनी सहायता सेवाको ढोका ढक्ढक्याउन पुगिन् । उनी एक वकिलमार्फत इच्छा मृत्युको निवेदन दिन चाहन्थिन् । कबीर भन्छिन्, “म काम गरेर जीविकोपार्जन गर्न चाहन्थेँ । तर त्यसो गर्न पनि असम्भव भयो ।” उनले इच्छा मृत्युलाई अनुमति दिने देशहरूबारे पढेकी थिइन् । तर भारतले अप्रत्यक्ष इच्छा मृत्युलाई मात्र अनुमति दिन्छ । “मैले कानुनी अनुमति पाउने छैन भन्ने मलाई थाहा थियो । तर म सन्देश प्रवाह गर्न चाहन्थेँ,” उनी भन्छिन् ।

खासमा उनी राज्यको ध्यानाकर्षण गर्न चाहन्थिन् र त्यो उनले गर्न सफल भइन् पनि । सरकारले उक्त मामिलामा तुरुन्तै कदम चाल्यो र अहिले उनले अर्कै एउटा जागिर पाइसकेकी छन् ।
विरोध र प्रतिज्ञाहरू
आफ्नो ज्यान लिने उनको कुनै आकांक्षा थिएन न त जे गरिन् त्यो अरूका लागि उदाहरण होस् भन्ने उद्देश्य नै थियो । त्यो कुरामा कबीर स्पष्ट छिन् ।

विरोधका यस्ता नाटकीयरूपहरू भारतमा असामान्य भने होइनन् ।
वर्षौँदेखि न्याय वा प्रणालीगत सुधार खोज्ने भारतीयहरूले भोक हडताल गरेका छन्, कैयौँ दिनसम्म कम्मरसम्म पानीमा डुबेर उभिएका छन् र मुखमा जिउँदो मुसा समेत राखेका छन् ।

समाजशास्त्रीहरूका बुझाइमा यस्ता विरोधका शैलीले महात्मा गान्धीको अहिंसात्मक अवज्ञाको विरासतलाई थामेका छन् । हैदरावाद विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गर्ने अनघा इंगोले कबीरले गरेका जस्ता कार्यहरूले सरकारलाई आफ्ना वाचाहरू पूरा गर्न असफल भएको स्मरण गराउने बताइन् ।

“यो घटनामा नागरिकको काम गर्ने अधिकार रक्षा गर्नुपर्ने आफ्नै औपचारिक वाचाबाट राज्य चुक्यो,” इंगोले भनिन् । उनले सामाजिक भेदभावका मुद्दाहरूमा धेरै काम गरेकी छन् । भारतमा करिब २० लाख पारलैङ्गिक मानिसहरू रहेको अनुमान छ ।

यद्यपि अधिकारकर्मीहरू यो संख्या अझै बढी हुनसक्ने बताउँछन् ।

सन् २०१४ मा भारतको सर्वोच्च अदालतले पारलैङ्गिक व्यक्तिहरूको पनि अन्य लिङ्गका मानिसहरूको जस्तै अधिकार भएको भन्ने आदेश दिएको थियो । तर उनीहरूले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउन अझै सङ्घर्ष गरिरहेका छन् ।

धेरैले अहिले पनि भिख मागेर वा यौन कार्यका माध्यमबाट जीविकोपार्जन गर्न बाध्य छन् । कबीर पारलैङ्गिक समुदायलाई राजनीतिक प्रतिनिधित्व र रोजगारीका लागि आरक्षित कोटा चाहिने बताउँछिन् ।

उनले भनिन्, “म यस्तो कडा कदम चाल्न चाहन्न थिए तर मसँग के छनोटका लागि के थियो त ?”

आफैँ बन्ने कोसिसको लडाइँ
मध्य केरलाको पलक्कड जिल्लामा हुर्केकी कबीरले जन्मका बेला आफूलाई दिइएको लिङ्ग पहिचानलाई परिवर्तन गरी आफ्नो वास्तविक लिङ्ग बाहिर ल्याउन वर्षौँ सङ्घर्ष गर्नुपरेको थियो ।

उनी आफ्नो परिवारको बारेमा बोल्न चाहिनन् । उनका भनाइमा उनको परिवार हालै भएको भाइको मृत्युको शोकबाट अझै बाहिर आएको छैन ।
उनले पलक्कडमा अन्य ट्रान्सजेन्डरहरूलाई खोज्ने प्रयास गर्दा कबीर किशोरी नै थिइन् । तर त्यस्तै एउटा प्रयासमा उनको गिरफ्तारी भयो । त्यसपछि उनी रोकिइन् ।

तेस्रोलिङ्गीलाई विवाह र ‘कृत्रिम गर्भधारण’को अधिकार दिने नीति तयार

‘कानुन नबन्दा विवाह गर्न पाएनौँ’
एउटा अखबारमा ट्रान्सजेन्डरको फोटो देखेपछि उनी घरबाट भागेर बैङ्गलोर सहर पुगेकी थिइन् ।

त्यहाँ उनले एउटा सहयोगी ट्रान्सजेन्डर समुदाय भेट्टाइन् र उक्त समुदायले उनलाई स्वीकार पनि गर्‍यो । तर उनीहरूको जीवन कठिन थियो । त्यहाँका पारलैङ्गिक व्यक्तिमध्ये धेरैले लिङ्ग परिवर्तन वा पुनःस्थापित गर्ने शल्यक्रियाको लागि पैसा जुटाउन वर्षौँसम्म भिख मागे ।

निराश भएकी कबीर घर फर्किइन् । “मैले मेरो परिवारले चाहेको जस्तो जीवन जिउन धेरै प्रयास गरे,” उनी भन्छिन् । उनका आसपासका मानिस उनलाई एक पुरुष बनाउन चाहन्थे । त्यसका लागि चुरोट पिउनु, व्यायामशालामा जानु र व्यक्तित्व विकास अन्य कुराहरू गर्नुपर्ने हुन्थ्यो ।

तर कसैलाई देखाएर वा बहाना बनाएर उनले आफूलाई दुःखी बनाइनन् ।
उनले कडा मेहनत गरेर अध्ययन पनि गरिन् । उनलाई सानैदेखि पढाउने जोस थियो र आफ्नो छिमेकका बच्चाहरूलाई पढाउने गर्थिन् ।

अन्ततः आफूले चाहेको जीवन बिताउन घर छोडेपछि पनि त्यसलाई उनले निरन्तरता दिइन् । कबीरले अहिलेसम्म तीन वटा विषयमा स्नातकोत्तर गरिसकेकी छन् । त्यसमा एउटा शिक्षा विषय पनि हो ।

उनले राज्य स्तरीय एउटा परीक्षामा उत्तीणर् गरेकी छिन् त्यसले उनलाई माथिल्लो कक्षाका विद्यार्थीलाई पढाउन अनुमति दिन्छ । तर जागिरका लागि दिइएका अन्तर्वार्तामा उनले असहज प्रश्नहरूको सामना गर्नुपर्‍यो ।

भारतमा अब समलिङ्गी यौनसम्बन्ध ‘वैधानिक’
जनगणनामा यौनिक अल्पसङ्ख्यकद्वारा पहिचानको माग
एक जना अन्तर्वार्ताकारले उनलाई “तिमीले कसरी विद्यार्थीलाई यौनिक आँखाबाट हेर्दैनौँ भनेर विश्वास गर्ने” भनेर पनि प्रश्न गरे ।

उनी भन्छिन्, “मलाई जुन कामको लागि पास गरियो त्यसका लागि त मेरो योग्यता धेरै माथिको थियो ।” उनलाई अन्ततः समाजशास्त्र विषय पठाउने कनिष्ठ शिक्षकको रूपमा अस्थायी दरबन्दीमा नियुक्ति दिइयो ।

त्यसपछि उनले आफ्नो लैङ्गिक वास्तविकता विद्यालयका अधिकारीलाई बताइन् । “मैले उनलाई म ट्रान्स महिला हुँ भनेँ र अन्तर्वार्तामा त्यस्तो हुलिया अर्थात् पुरुषको भेषमा उपस्थित भएकोमा माफी मागेँ । जागिरविना म भाडा तिर्न पनि नसक्ने अवस्थामा रहेको बताएँ,“ उनले भनिन् ।

उनका आरोपमा गत नोभेम्बरमा पढाउन थालेपछि उनले सहकर्मीबाट आउने विभिन्न खाले टिप्पणीको सामना गर्नुपर्‍यो तर विद्यार्थीहरूले त्यस्तो गरेका थिएनन् । कबीरका अनुसार उनलाई गत ६ ज्यानुअरीमा अचानक विद्यालय नआउन भनियो । आफ्नो बर्खास्तकी नियम विपरीत भएको उनको आरोप छ ।

जागिर नभएपछि चिन्तित बनेकी उनले विद्यालय नजिकैको एउटा पसलमा गएर काम पनि मागिन् । तर उनी उनले काम पाउन सकिनन् । त्यसपछि मात्र उनले कानुनी सहायता लिन खोजेकी हुन् । (बिबिसी)

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]