Radio Golden Live..

सिड्नीपछि कन्दरा समूहको प्रस्तुती एडीलेडमा

25

एडिलेड । शनिवार सिड्नीमा सम्पन्न नेपाल महोत्सवमा बिसौं हजार संगीतप्रेमीलार्इ नचाएको कन्दरा समूहले अब साउथ अष्ट्रेलियाको एडिलेडमा साँगितिक प्रस्तुती दिने भएको छ ।

कन्दराले एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा यहि डिसेम्बर ५ तारिकको दिन हुन लागेको उक्त कार्यक्रमका लागि बुधबार बेलुका एडीलेड प्रस्थान गर्न लागेको ब्याण्डका विवेक श्रेष्ठ (गायक) ले बताए।

एडीलेडको डोम पल्सकी हलमा बेलुका ५ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा स्थानिय प्रस्तुतिसँगै ब्याण्डले लाईभ सांगीतिक प्रस्तुति दिने एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक नबिन कँडेलले बताए । मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गीतहरु हङ्गकङ् पोखरा, लेककी हे माया, तगारोमा रुमाल, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडी गोठैमा गितहरु श्रोता-दर्शकमाझ लोकप्रिय छन् ।

विभिन्न स्टेटमा समेत कार्यक्रम गर्दै अष्ट्रेलियाको सांगीतिक यात्रामा रहेको ब्याण्डमा बुद्ध बर्जाचार्य (किबोर्ड), अमित गुरुङ (गितार), अशिम शेरचन (गितार), अनिल गुरुङ (बेस गितार), अभिनाष गायक (मादल), सुनिल थापा (ड्रमर) तथा विवेक श्रेष्ठ (गायक) सहभागि छन् ।

एक दशकपछि पुनः स्रोता-दर्शक माझ आएको कन्दरा अहिले विभन्न देशमा सांगीतिक कार्यक्रम मार्फत पुनरागमन गरेको छ । २१ वर्षअघि पोखरामा स्थापना भएको यो ब्याण्डले विगतमा थुप्रै लोकप्रिय गीत दिइसकेको छ । कन्दराले आफ्नो पहिलो एल्बम ‘चञ्चले कान्छी’ सन् १९९४ मै सार्वजनिक गरेको थियो भने दोस्रो एल्बम ‘डाँडा पारी’ सन् १९९६ मा स्रोतामाझ ल्याएको थियो ।

त्यसपछि सन् १९९८ मा तेस्रो एल्बम ‘हङकङ पोखरा’ सार्वजनिक गरेको कन्दराले चौथो एल्बम ‘वर्षौं पछि’ सन् २००६ मा बजारमा ल्याएर चर्चा पाएको थियो।

एडिलेडमा रहँदा कन्दरा समूहले सांगीतिक प्रस्तुतीसँगै नेपाली र भुटानी समुदायसँग अन्तरक्रिया गर्नेछ ।

भुटानी समुदायमा सांगीतिक ब्याण्डमार्फत सक्रिय रहेका अभिन सुनुवारले कन्दराको प्रस्तुतीका लागि आफुहरु उत्साहपूर्वक प्रतिक्षा गरिरहेको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]