FLASH NEWS
  • Loading...

गुणस्तरीय रुपमा पुल निर्माण सक्न निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०० पटक पढिएको
Post Thumbnail


काठमाडौं– मुलुकमा बन्ने ठूला पुल र भौतिक पूर्वाधारका काम समयमै नसकिने समस्या एवं गुणस्तरीय काम नहुने समस्या देखिएकाले त्यसको समाधानका लागि सरकार केन्द्रित भएको छ ।
पुल गुणस्तरीय रुपमा तोकिएको समयमै सक्न व्यवस्थापिका–संसद्को विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । वर्षौंदेखि रणनीतिक सडकमा निर्माण भइरहेका पुल निर्माण अलपत्र भएपछि समितिको बुधबारको बैठकमा मन्त्रालय र सडक विभागसंग छलफल गरी समयमै पुल निर्माण नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राखी कारबाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले ठूला पुल र भौतिक पूर्वाधारका काम समयमै नसकिने एवं गुणस्तरीय काम नहुने समस्या देखिएकाले त्यसको समाधानका लागि सरकार केन्द्रित भएको जानकारी दिए ।
‘समयमै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न केही कानुनी समस्या देखिएकाले त्यसको समाधान गरी कारबाही प्रक्रिया सुरु गरिनेछ,’ उनले भने, ‘समयमै काम सक्न कतै प्राकृतिक र कतै मानवीय समस्या छन, यसको समाधान गरिनेछ ।’
मन्त्री लेखकले पूर्वाधार निर्माणमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयसग सहकार्य गरेर काम भइरहेको बताउँदै मन्त्रालयको पुँजीगत खर्च अहिले २५ प्रतिशत पुगेको र एक महिनामा ४० प्रतिशत पु¥याउने लक्ष्य राखिएको धारणा व्यक्त गरे । ‘ठूलो भूकम्पमा पनि पुल नचल्ने गरी नबिग्रिएकाले प्राविधिक रुपमा कमजोर नभएको प्रमाणित गरेको छ, केही कमजोरीलाई सच्याएर पुल निर्माणलाई तीव्रता दिनुपर्छ’ उनले भने ।
समितिका सभापति रवीन्द्र अधिकारीले भौतिक पूर्वाधारका विषयमा अनुसन्धानका लागि स्रोत र साधनको व्यवस्था गरिनुपर्ने बताए । ‘यसका लागि आयोग र अर्थ मन्त्रालयले कुनै विश्वविद्यालयसंग मिलेर काम गर्नुपर्छ, पूर्वाधारमा गरिने अनुसन्धानले विकास निर्माणमा सहयोग पु¥याउने भएकाले आयोगले अग्रसरता लिनुपर्छ ’ उनले भने ।
वर्षायाम अघि नै पुल मर्मत सम्भारको काम सक्न, पुलमा भित्तेलेखन र पर्चा टाँस्ने गर्नाले दुर्घटना बढेकाले रोक्न पनि सभापति अधिकारीले निर्देशन दिए । सांसद गणेश पहाडीले पुल समयमा नसकिनुमा निर्माण व्यवसायी जिम्मेवार भएको उल्लेख गर्नुहुँदै सिन्धुली र मकवानपुर जिल्ला जोड्ने कमलामाई नदीको पुल पाँच वर्षदेखि अलपत्र भएको सुनाएका थिए ।
यस्तै, सांसद ललितजंग शाहीले जुम्लाको दानसाँघुमा ‘साइड क्लियर’ नगरी पुल बनाइँदा सम्पन्न भएर पनि अलपत्र रहेको घटना प्रस्तुत गरे । सांसद जानकी साउदले कर्णाली नदीको रकम पुल धेरै वर्षदेखि अलपत्र हुँदा अछाम जिल्लामा छ महिना यातायात नचल्ने समस्या रहेको बताइन् । सांसद आङटावा शेर्पाले रामेछापको खिम्ती खोलामा पिलर ठड्याएको आठ वर्ष पुग्दा पनि पुल नबनेको उदाहरण दिए । सांसद गुरुप्रसाद बुर्लाकोटी, सीता गिरी, अनिता देवकोटा, प्रेमबहादुर आले, शान्ता मानवी, रञ्जना सरदार र रामअयोध्या यादवले समयमा पुल र सडक निर्माण नगर्ने निर्माण व्यवसायीको सूची सार्वजनिक गर्न माग गरेका थिए ।
आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विकास निर्माणका मन्त्रालयमा प्राविधिकको सख्या बढाइनुपर्नेमा जोड दिए । ‘पुल निर्माण हुनुपर्ने योजनामा पुलका लागि लाग्ने वास्तविक लागत नआउँदा योजना छनोटमा समस्या हुने गरेको छ, तलैदेखि प्रक्रिया पूरा गरेर मात्र आयोगमा योजना पठाइनुपर्छ’ उनले भने ।
मन्त्रालयका सचिव धनबहादुर तामाङले सडक पुलको डिजाइन राम्रो नहुने र आधार पनि स्पष्ट नहुँदा समस्या आएकाले आधार निर्माण गरिनुपर्ने बताए । आयोगका सचिव चन्द्रकुमार घिमिरेले भौतिक पूर्वाधारमा बढी बजेट लगानी भएकाले विकास निर्माण गर्न काम समयमै सक्नुपर्ने आवश्यकता औंल्याए ।
सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले कम पैसा कबोल गर्ने निर्माण व्यवसायीलाई पुराना काम नसके पनि अर्को ठेक्का दिनुपर्ने बाध्यता रहेको सुनाए । विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख सरोजकुमार प्रधानले एक हजार दुईसय पुल हाल निर्माण भइरहेको जानकारी गराए । ‘यो वर्ष एकसय पुल सम्पन्न गर्ने लक्ष्य छ, रणनीतिक महत्वका २ सय ८८, स्थानीयस्तरका ९ सय ३ गरी एक हजार १ सय ९१ पुल निर्माण भइरहेको छ, यसमध्ये १ सय २६ पुल विभिन्न कारणले समस्यामा छन’ उनले भने ।
पुल फोहर मैला थुपार्ने स्थल बन्दा पुलको आयु घट्ने गरेको विभागले जनाएको छ । हाल आठ सय पुल ४० वर्षभन्दा पुराना रहेको तथ्यांक विभागसंग छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित