अस्ट्रेलियाविरूद्ध तीन दिनमा पहिलो टेस्ट हारेको भारतीय क्रिकेट टोलीले १० करोड रुपैयाँ पनि गुमाएको छ।
अस्ट्रेलियाले शनिबार भारतलाई ३ सय ३३ रनले पराजित गर्यो। भारतले पूणे टेस्ट जितेको भए नम्बर १ टेस्ट टिम बन्ने थियो। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले हरेक वर्ष अप्रिलको पहिलो दिन टेस्टको नम्बर एक टोलीलाई पुरस्कार स्वरुप १० करोड दिने घोषणा गरेको थियो।
पहिले यो रकम ५ करोड थियो। यसैपालि देखि आइसिसीले यो रकमलाई दुई गुणा बढाएको हो। पूणे टेस्ट पराजयसँगै भारतको लगातार १९ टेस्ट अपराजयको कीर्तिमान भंग भएको छ भने भारतमा ७ टेस्टको असफलता पछि अस्ट्रेलियाले पहिलो टेस्ट जितेको छ।
अस्ट्रेलियाले १३ वर्ष पछि भारतलाई उसैको घरमा पराजित पनि गरेको हो। पछिल्लो समय अस्ट्रेलियाले २००४ मा भारतलाई उसैको मैदानमा पराजित गरेको थियो।