Radio Golden Live..

स्ववियु निर्वाचनका लागी सुरक्षा व्यवस्थाकोनिर्देशन


काठमाडौं—उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यही फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
निर्वाचनसंग सम्बन्धित निकायसंगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले (स्ववियु) निर्वाचनमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका हुन् । उनले समयमै स्ववियु निर्वाचन गर्ने विषयमा विभिन्न राजनीतिक दलका सबै नेतासंग छलफल भइरहेको जानकारी दिदैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
स्ववियु निर्वाचन निर्धारित समयमै गराउनेबारे बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

स्ववियु निर्वाचनका लागि सहयोग गर्ने शीर्ष नेताको प्रतिबद्धता
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको समयमै सम्पन्न गराउने विषयमा प्रमुख तीन दलका शीर्ष नेता, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी प्रतिनिधिबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियां लगायत पदाधिकारी र तीन दल निकटका विद्यार्थी प्रतिनिधिको सहभागिता थियो ।
छलफलमा प्रधानमन्त्री दाहालले तोकिएको मितिमा स्ववियु निर्वाचन सम्पन्न गराउन सरकारकातर्फबाट सहयोग गरिने बताए । उनले स्ववियु निर्वाचन भएपछि स्थानीय तहको निर्वाचनका लागि पनि मनोवैज्ञानिक प्रभाव पार्ने बताउँदै यसले देश निर्वाचनतिर जाने वातावरण बन्ने विचार व्यक्त गरे ।
कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन १४ मै स्ववियु निर्वाचन गर्न क्याम्पसमा तालाबन्दी गर्ने समूहलाई खोल्न अनुरोध गरिने र नमाने ताला फोडेर निर्वाचनको प्रक्रिया सुरु गरिने बताए ।
एमाले अध्यक्ष ओलीले स्ववियु निर्वाचन सार्दा पार्टीले घोषणा गरेको मेची महाकाली अभियानलाई असर पुग्ने भएकाले फागुन १४ मै चुनाव गरिनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले फागुन १४ मा स्ववियु निर्वाचन गराउने वातावरण बनाइदिन शीर्ष नेतासंग सहयोग माग गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]