- Loading...
मोर्चाले पनि निर्वाचनमा भाग लिन्छ –प्रम
- गोल्डेन खबर
- ७ साल अघि
- ८८ पटक पढिएको
विराटनगर—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि हालतमा जसरी पनि स्थानीय निर्वाचन गराई छाड्ने अठोट लिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउनका लागि छलफल भइरहेको र स्थानीय तहको संख्यामा वृद्धि गरिएपछि मोर्चा निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका थिए ।
स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन पछि तराई–मधेसमा केही तहको संख्या वृद्धि गरिने जानकारी उनले दिए ।
प्रान्तीय र संसदीय निर्वाचनका लागि संविधान संशोधन आवश्यक रहेको तर स्थानीय तहको निर्वाचनका लागि तत्काल नै आवश्यक नरहेको उनले बताए । उनले वर्तमान सरकारले नै स्थानीय तहको निर्वाचन गराउने बताउँदै मधेसको समस्या समाधानका लागि सरकार गम्भीर रहेको जानकारी गराए । उनले राष्ट्रको भविष्य र राजनीतिक स्थिरताका लागि मधेस–पहाड र हिमाललाई मिलाएर मधेसी र थारुको मागलाई सम्बोधन गर्न सरकार दृढ रहेको पनि जानकारी गराए र
संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने विषयमा छलफल भइरहेको र संसद्मा मतदान गराएर असफल गराउनुभन्दा दलहरूबीच समझदारी गराएर प्रस्ताव पारित गराउने आफ्नो सोचाइ रहेको उनले बताए ।
उनले नेकपा (एमाले)को मेची–महाकाली अभियानलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गर्दै द्वन्द्वको अवस्था सिर्जना हुन नदिनका लागि मोर्चालाई वातावरण सहजीकरणतर्फ अग्रसर हुन सुझाव दिए । उनले भने, ‘कुनै पनि राजनीतिक दलको कार्यक्रममा व्यवधान गर्नु हुँदैन, एक अर्काको सम्मान गर्नुपर्ने लोकतन्त्रको नीति हो, कुनै अप्रिय घटना हुन नदिन सरकार गम्भीर छ ।’