काठमाडौं–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतको नयाँदिल्लीमा सुरु भएको प्रतिआतंकवादसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका आतंकवाद विश्वव्यापी रुपमा गम्भीर चुनौतीका रुपमा देखिएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलनमा गृहमन्त्री निधिले अन्तर्राष्ट्रिय समुदायका लागि सुरक्षा चासो सबैभन्दा चिन्ताको विषय भएको भन्दै आतंकवादी समूहले आफ्नो प्रभाव विस्तार गर्न खाजेकाले त्यसको रोकथामका लागि सबै राष्ट्र मिलेर बलियो कानुनी संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा संयन्त्र बलियो नबनाएसम्म आफ्ना नागरिकको सुरक्षा गर्न कठिन हुने निधिको भनाइ थियो । एक दशकअधि इराक र केही वर्षअघि काबुलमा क्रुर तरिकाबाट मारिएका नेपालीको प्रसंग उल्लेख गर्दै उनले त्यस्ता गतिविधिले कुनै पनि समाजको प्रगति र देशको विकास हुन नसक्ने बताए ।
गृहमन्त्री निधिले सबै किसिमका आतंकवादविरुद्ध नेपाल भएको बताउँदै प्रतिआतंकवाद रणनीति तयार गर्नुपर्नेमा जोड दिए ।