Radio Golden Live..

बोआओ मञ्चमा भाग लिन प्रधानमन्त्री भोलि चीन जाँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुन भोलि राति चीनको हाइनान प्रान्तको बोआओ सहरतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शङ्करदास बैरागी तथा उक्त मन्त्रालयका अन्य उच्च पदाधिकारी रहनुहुनेछ ।

प्रधानमन्त्री प्रचण्ड मञ्चका महासचिव झु वेनहोङको निमन्त्रणामा उक्त मञ्चको सम्मेलनमा भाग लिन जान लाग्नुभएको मन्त्री महतले आज परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।

बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी उहाँले दिनुभयो । सोही दिन अपराह्न उहाँ बेइजिङतर्फ प्रस्थान गर्नुहुनेछ ।

प्रधानमन्त्रीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचारविमर्श गर्नुहुनेछ ।

प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध ः समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।

सोही दिन उहाँले चिनियाँ व्यापारी समुदायसँग छलफल गर्नाका साथै उक्त विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्नुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । त्यहाँ नेपाल र तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा केन्द्रित रहेर तिब्बत सरकारका नेतासँग छलफल हुने मन्त्री महतले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा कुनै सन्धि, सम्झौता र समझदारीपत्रमा हस्ताक्षर नहुने जानकारी दिँदै उहाँले पारस्परिक सम्बन्ध र सहायतामा नेपालले महत्वपूर्ण विषयमा आफ्नो तयारी पूरा गरेको र निकट भविष्यमा ती विषयमा चीनसँग सहमति भई हस्ताक्षर हुनेमा नेपाल सरकार विश्वस्त रहेको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्ड यही चैत १६ गते बुधबार स्वदेश फर्कनुहुनेछ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]