FLASH NEWS
  • Loading...

पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


बर्दिया, २२ चैत । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो ।

कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् ।

स्थानीय तह चुनावका लागि आह्वान गरिएको म्यादी प्रहरीमा आवेदन दिन सदरमुकाम आएकी दुर्गाले भनिन्, “प्रहरी हुने सानैदेखिको इच्छा हो । पहिलोपटक असफल भएँ । प्रहरी नै हुन नसके पनि यसपालि म्यादी प्रहरी बन्ने धोको छ ।” उनीजस्तै धेरै महिला यतिखेर म्यादी प्रहरीको लाइनमा छन् । सामान्य लेखपढ गरेका मात्र होइन, स्नातक तह पढ्दै गरेका युवती र गृहिणीको म्यादी प्रहरी बन्ने धोको छ । महिलामध्येमा पनि थारु महिला बढी छन् । म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने र घरखर्च पनि चलाउन सजिलो हुने उनीहरूको भनाइ छ । सदाशिव बहुमुखी क्याम्पस मगरागढीमा स्नातक प्रथम वर्षमा पढ्दै गरेकी आशाकुमारीले म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने हुनाले म्यादीमा भर्ना हुन आएको बताइन् ।

“यतिखेर समय खाली छ । फुर्सद छ । समयको पनि सदुपयोग हुने, पढाइ खर्च पनि जुट्ने भएकाले म्यादी बन्ने इच्छा जागेको हो,” उनले भनिन् । विगतमा घरायसी काममा मात्र सीमित रहने महिला आजभोलि सामाजिक काम तथा अन्य क्षेत्रमा सक्रिय देखिनुले महिलाको चेतनास्तर बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन् ।

सरकारले म्यादी प्रहरीलाई सेवा सुविधा पनि राम्रै दिएकाले पनि यसमा आर्कषण बढेको महिला बताउँछन् । अघिल्ला निर्वाचनमा म्यादीका लागि महिलाले खासै चासो देखाउँदैन्थे । यसपालि भने बढी आकर्षित छन् । अनुभव पनि हुने र कमाइ पनि हुने भएकाले आफूहरू आकर्षित भएको महिला बताउँछन् । म्यादीको अनुभवले सेना प्रहरीमा जागिर खान सजिलो हुने धेरैको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार म्यादीका लागि एक हजार १२७ महिलाले आवेदन दिएका छन् भने पुरुष चार हजार सात रहेको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक बोहराका अनुसार एक हजार ११२ जनालाई म्यादीमा छनोट गरिने छ ।
म्यादी प्रहरीले तालिम लिएपछि नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन पाउनेछन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित