- Loading...
आत्मघाती हमलामा मर्नेको सङ्ख्या ११२
- गोल्डेन खबर
- ७ साल अघि
- ११७ पटक पढिएको
बेरुत,४ वैशाख । सिरियामा सिरिया सरकारको नियन्त्रणमा रहेको सहरबाट विस्थापित भएका व्यक्ति बोकेको दुई वटा बसमा भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ११२ पुगेको मानव अधिकारवादी समुहले आइतबार जानकारी दिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आइतबार दिएको जानकारीअनुसर उत्तरी सहर फुआ र काफ्रियाबाट विस्थापित भएका ९८ व्यक्तिको अलेप्पोको पश्चिमी भागमा पर्ने मार्गमा भएको आत्मघाती आक्रमणमा मृत्यु भएको छ ।
आक्रमणमा परी अरु सयाँै घाइते भएका बताइएको छ । घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्ने पनि अनुमान गरिएको छ । फुआ र काफ्रिया विगत दुई वर्षदेखि विद्रोहीको नियन्त्रणमा रहेको थियो ।
सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको छ वर्षीय लामो गृह युद्धका क्रममा यस्ता घटना बेलाबेलामा भइरहेका छन् । राष्ट्रपति बसर अल असदले हिंसा अन्त्यका लागि आह्वान गरिरहनु भएको छ । सिरियामा सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समय पछाडि गृहयुद्धमा परिणत भएको थियो । यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट पनि हाबी हुँदै गयो ।
जारी यस द्वन्द्वमा परी सन् २०११ देखि हालसम्म तीन लाख १० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी जारी यस द्वन्द्वको कारण लाखौँ व्यक्ति घाइते भएका छन् । त्यस्तै लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।रासस÷एएफपी