- Loading...
राष्ट्रिय महिला भलिबल जेठ २३ देखि
- गोल्डेन खबर
- ७ साल अघि
- १०५ पटक पढिएको
काठमाडौँ, ९ जेठ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठको तेस्रो सातादेखि सञ्चालन हुने भएको छ ।
प्रतिष्ठानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जेठ २३ देखि २६ गतेसम्म खेल हुने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिनुभयो । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगितामा छ टोलीको सहभागिता रहनेछ ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा अघिल्लो विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब र उपविजेता न्यु डायमन्ड एकेडेमी तथा नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल सङ्घ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताका विजेता टोलीले रु एक लाख ५० हजार, उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् । बहुराष्ट्रिय रङ कम्पनी केएनपी जापान प्रालिको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताका खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न व्यक्तिगत पुरस्कार राखिएका छन् ।