FLASH NEWS
  • Loading...

रामगुफा ओझेलमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४१ पटक पढिएको
रामगुफा ओझेलमा

पाल्पा-  भदौ । रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ ।

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा नुहाएको भनाइ छ । सोही घाट नजिकै रहेको गुफामा भगवान् रामले रामघाटमा नुहाएर तपस्या गरेको किंवदन्ती रहेको यो गुफा परम्परादेखि नै रामगुफाका नामले चिनिँदै आएको छ । यस गुफाले रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रमा निकै प्रचुर सम्भावना बोकेको छ, तर यसको संरक्षण, विकास र प्रवद्र्धनमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । यस गुफाभित्र शंखाकार तथा विभिन्न भगवान्का आकृति रहेका छन् । झण्डै ५० मिटरको लम्बाइमा फैलिएको गुफाको संरक्षण नहुँदा यहाँ चमेराले यसलाई वासस्थान बनाउँदै आएका छन् । भगवान् रामले तपस्या गरेको यस गुफाका विषयमा प्रचारप्रसार नहुँदा यसको धार्मिक, पर्यटकीय महत्व नै ओझेलमा पर्दै गइरहेको छ । यसले गर्दा रामगुफाको सट्टा कतिपयले चमेरे गुफा पनि भन्ने गरेको पाइन्छ । यहाँका स्थानीयवासी नै गुफाका विषयमा अनभिज्ञ छन् । यस गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् । गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । अब रामपुर नगरपालिकासँग सहयोग माग गरेर गुफा संरक्षणतर्फ लाग्ने उहाँले बताउनुभयो । गुफासम्म जाने बाटो, गुफा वरिपरिको क्षेत्र सरसफाइ, गुफाले ओगटेको जमिनको बाहिरी भाग घेराबार, गुफाभित्र भगवान् रामको मन्दिर निर्माणलगायतका काम तत्काल गर्न सकेमा पनि यहाँ पर्यटकको आवागमन ह्वात्तै बढ्ने प्रचुर सम्भावना छ । अहिलेसम्म यहाँ गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको छ । रामगुफा रामपुरको पर्यटन विकासका लागि एक बलियो मेरुदण्ड हो । यसको पर्यटन प्रवद्र्धनले गति लिन नसक्दा पर्यटकको नजरमा यो आफैँ ओझेलमा परिरहेको छ । यहाँसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका विषयमा जानकार भए पनि खासै चासो दिएको पाइँदैन । गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित