FLASH NEWS
  • Loading...

‘एक्लैले ट्राफिक क्षेत्र सुधार सकिदैन, यात्रु र व्यवसायी पनि लाग्नुपर्छ’

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८० पटक पढिएको
‘एक्लैले ट्राफिक क्षेत्र सुधार सकिदैन, यात्रु र व्यवसायी पनि लाग्नुपर्छ’

काठमाडौँ, २७ कात्तिक । सबै क्षेत्र मिलेमात्र यातायात क्षेत्रमा सुधार आउने सरोकारवालाले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र महानगरीय ट्राफिक प्रहरी महाशाखाले संयुक्त रुपमा सोमबार आयोजना गरेको ‘संयुक्त व्यवसायी तथा मजदूर प्रशिक्षण कार्यक्रम’मा महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ट्राफिक वा व्यवसायीले मात्र सुधार गरेर यातायात क्षेत्र नसुध्रिने बताएका हुन् ।

“नेपालको यातायात क्षेत्र सुधार्नका लागि विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यात्रु सबै मिल्नु जरुरी छ,”– उनले भने । प्रमुख खनालले यातायात क्षेत्रको सुधारका लागि महाशाखाले ठाउँठाउँमा बसस्टप, ट्राफिक बत्ती, तीव्र गतिमा चलाउने सवारी साधनलाई बीचको भाग र यात्रु लिएर हिँड्ने सवारी साधनलाई छेउको भाग प्रयोग गर्न लगाइएको जानकारी दिएका थिए ।

सवारी चालकलाई सभ्य नागरिकको रुपमा स्थापित गर्न पोशाकको व्यवस्था मिलाउनेबारे छलफल भइरहेको बताउँदै उनले भने, “सबै यात्रुलाई म यो बसमा यात्रा गर्छु भन्ने वातावरण सिर्जना गर्न यातायात व्यवसायी लाग्नुपर्छ ।” महासंघका कावा अध्यक्ष डोलराज खनालले यातायात क्षेत्रलाई परेका समस्या समाधानका लागि राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

महासंघका महासचिव सरोज सिटौलाले राज्यको चार खर्ब लगानी रहेको यातायात क्षेत्र पूर्वाधारको अभावले समस्यामा परेको बताउँदै यति धेरै लगानी गरेको यातायात क्षेत्रमा राज्यले लामो समयसम्म पनि ठूला सवारीसाधनका लागि लाइसेन्स खुलाउन नसकेको स्वीकार गरे ।

कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रेपलाञ्चोक र नुवाकोटका ९० भन्दा बढी संघसंस्थाका प्रतिनिधिको सहभागीता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित